कालीकोटमा दुई समूह बिच झडप, प्रहरी सहित १२ जना घाइते

सुर्खेत ।  कालीकोटको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन् । वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो ।

घटना भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरी टोली माथि पनि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए । सुरुमा राम्नीका धनजय चौलागाईँको घरमा विवाद भएको र त्यहाँ उनी सहित वर्ष ३३ कि रमिता चौलागाईँ, वडा नं २ बस्ने वर्ष १६ का सोबिन सुनार, वर्ष २९ का मोहन बिक र राम्नी ७ का राजु सुनार बिच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटवाट हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरी माथि नै आक्रमण गरेको बताए । आक्रमणमा परेका प्रहरीको प्राय खुट्टामा चोट रहेको उनले बताए । प्रहरी माथि आक्रमण भएपछि पाद्माघाट प्रहरी चौकीबाट हतियार र गोली, प्रहरी चौकी गेला र चिल्खायाबाट थप प्रहरी टोली गएर घाइते प्रहरीको उद्धार गरेको जनाइएको छ ।

दुई समूह बिचको झडपमा परेर घाइते भएका सबैको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा महाबै गा‍पा ७ बस्ने वर्ष ४५ का धनजय चौलागाईँ, वर्ष ३३ की रमिता चौलागाईँ, वर्ष २२ का कमल चौलागाई, रहेका छन् । यस्तै कालीकोट जिल महाबै गापा २ बस्ने वर्ष १९ का दीप बि.क.वर्ष २४ का सर्जन बि.क. वर्ष २५ का घमन बि.क, वर्ष २७ का करण शाहीको पनि जिल्ला अस्पताल उपचार भइरहेको छ । उनीहरूको पनि ठाउँको हातखुट्टामा चोट रहेको बताइएको छ । यस्तै गाउँमा प्रवेश गरेर आँतक मच्चाउने ११ जनालाई प्रहरीमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया