सुर्खेतमा रोक्का जग्गा बैंक र मालपोतको मिलिमतोमा नामसारी गरेको आरोप

सुर्खेत । सुर्खेतमा अदालतले रोक्काको आदेश दिएको जग्गा बैंक र जिल्ला मालपोतका कर्मचारीहरुको मिलिमतोमा नामसारी गरेको आरोप जग्गाधनीले लगाएका छन् । सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनका श्रीतमी अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप लगाइएको हो ।

एनआईसी एशिया बैंकमा उप्रेतीद्वयको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नं. १ क किता नं २०४० को क्षेत्रफल ०–०–१५ (बिगाह) र सोही वडा १ ख कित्ता नं. ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरु क्रमश – ०–१–१०–०, ०–०–८–१, ०–०–१६–१, ०–०–११–३ र ०–०–८–१ (बिगाह) जग्गालाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नु भनी बैंकलाई आदेश दिएकोमा बैंक र मालपोतका कर्मचारीहरुको मिलेर गत साउन २ गते बैंकबाट फुकुवा गराइ लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको जनाइएको छ ।

जग्गाधनी प्रकाश उप्रेतीले अदालतले रोक्का राख्नु भनी आदेश दिएको तर बैंक र मालपोतका कर्मचारीहरु मिलेर रोक्का राखेको जग्गा फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको घटनावारे आफूले सोमवार मात्रै थाहा पाएको बताए। उनले अदालतको आदेशलाई समेत बैंक र मालपोतले उल्लंघन गरेर लिलामीमा अर्कैलाई सकार गर्न लगाएको भन्दै यो काममा बैंक र मालपोतको बदमासी भएको आरोप लगाए । उनले आफूलाई पौडेलले नै तपाईको जग्गा मैले बैंकको लिलामीबाट लिएको भनेपछि मात्रै थाहा पाएको उल्लेख गरे ।

यता मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरु २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकोमा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै काम गर्न भनिएको छ ।

यस्तै मालपोत अधिकृत हमालले अदालतबाट रोक्का राखेको जग्गाहरु के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई जना कर्मचारीलाई तीन दिनभित्र स्पष्टिकरण सोधेका छन्। सोमवार नै कार्यालय प्रमुख हमालले कार्यालयका नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कालाई के कसरी नामसारी भएको हो सो बारे चित्तबुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न स्पष्टिकरण सोधेका हुन्। यदि तोकिएको समयभित्र जवाफ नदिएमा कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

यता एनआईसी एसिया बैंक सुर्खेतले बैंकले सवै प्रक्रियाहरु पूरा गरेर मात्रै लिलाम गरेको भन्दै कुनै जालसाज नगरेको दावी गरेको छ । बैंकका सुर्खेत प्रबन्धक अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रिया अनुसार गरेको भन्दै कुनै जालसाज नगरेको जिकिर गरे । समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वभाविक भएको भन्दै उनले सवै कामहरु कानुन अनुसार नै प्रक्रिया पूरा गरेर गरिएको उल्लेख गरे । आफू बैंकमा नयाँ आएको र यी सवै कामहरु पहिले नै भएकोले थप कुराहरु बैंकको माथिल्लो निकायबाट बुझ्नसमेत उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया