काठमाडौँ पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा रोक

काठमाडौँ, । काठमाडौँ पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा रोक लगाइएको छ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई केन्द्रित गर्दै पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्नमा रोकावट गरिएको हो ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले जानकारी दिएका छन् । उनका अनुसार पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरिसकेको र उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने छ ।

तपाईको प्रतिक्रिया