शैक्षिक सुधारका लागि एसओएस र सरस्वती विद्यालयबीच एमओयु

सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले र वीरेन्द्रनगरको सरस्वती आधारभूत विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थी आदान–प्रदान कार्यक्रमको संझौतापत्रमा हस्ताक्षर गरेको छ । यो संझौतापछि दुई विद्यालयवीच विद्यार्थी आदान–प्रदान, शिक्षक सहयोग, शैक्षिक सामाग्री सहयोग, अतिरिक्त शैक्षिक कार्यक्रम, अभिभावक सशक्तिकरण कार्यक्रम, शिक्षकहरुका लागि क्षमता अभिबृद्धिका कार्यक्रमका साथै भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनमा एसओएसले सरस्वती आधारभूत विद्यालयलाई सघाउनेछ ।

एसओएस विद्यालयका प्राचार्य हरिहर बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धि गर्न र आवश्यक भौतिक पूर्वाधारमा सहयोग गर्नका लागि संझौता गरिएको बताए । ‘वीरेन्द्रनगर–१३ मा रहेको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि शिक्षकहरुलाई तालिम, विद्यार्थी आदान–प्रदान, अभिभावक शिक्षाका साथै भौतिक पूर्वाधार निर्माणमा पनि सहयोग पु¥याउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हौं,’ उनले भने, ‘सामुदायिक विद्यालयलाई एसओएसकै अंगको रुपमा लिएर काम गर्ने लक्ष्य राखेका छौं ।’

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले दुई विद्यालयबीच भएको समझदारीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘शिक्षाको गुणस्तर राम्रा भएका विद्यालयको शिक्षण सिकाई समुदायकै केही कमजोर विद्यालयमा लागू गर्दा उक्त विद्यालयको पनि शैक्षिक सुधारमा महत्वपूर्ण टेवा पुग्छ,’ उनले भनिन्, ‘विश्वविद्यालयस्तरमा शैक्षिक सुधारका लागि यस्ता संझौता भएपनि समुदायभित्रै विद्यालय–विद्यालयबीच भएको यो संझौताले ठूलो अर्थ राख्दछ ।’

उनले रहर लाग्दो वातावरणमा शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताइन् । ‘शिक्षा डर लाग्दो होइन, रहर लाग्दो हुनुपर्छ,’ उनले भनिन्, ‘रहर लाग्दो वातावरण भए मात्रै विद्यार्थीहरु विद्यालयसम्म आउँछन् ।’ उनले प्राथमिक तहको शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाले विशेष योजना बनाइरहेको बताइन् ।

एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले दुबै विद्यालयका राम्रा कामहरुलाई एक–अर्कामा अनुसरण गरिने बताए । ‘सरस्वती आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि दुबै विद्यालयले सामुहिक पहल गछौं,’ उनले भने, ‘यसका साथै एक–अर्काका राम्रा कामहरुको पनि अनुसरण गर्दै जाने लक्ष्य हामीले लिएका छौं ।’ उनले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताए । ‘निजी शिक्षण संस्थामा आफ्ना नानी–बाबु पढाउने अभिभावकले विद्यालयको निरन्तर निगरानी गरेको देखिन्छ, सामुदायिक विद्यालयमा अभिभावकले कुनै चासो लिएको पाइँदैन्,’ उनले भने, ‘विद्यालय सुधारका लागि अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ, हामी अभिभावकहरूलाई विद्यालयसम्म कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि हामी काम गर्नेछौं ।’
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माले एक शैक्षिक गुणस्तर भएको विद्यालयले समुदायबाट सन्चालित विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि साझेदारी हुनु महत्वपूर्ण भएको बताए । ‘उच्च शिक्षामा भगिनी सम्बन्ध राखेको त हामीले देखेका छौं, तर विद्यालय तहमा भएको यो साझेदारी महत्वपूर्ण छ,’ उनले भने, ‘एक अर्काका राम्रा क्रियाकलापलाई अनुसरण गर्दै शिक्षाको गुणस्तर बढाउन यसले महत्वपूर्ण काम गर्ने अपेक्षा हामीले लिएका छौं ।’

एसओएसका बोर्ड सदस्य डा. नवराज केसीले शिक्षा र स्वास्थ्यमा सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औल्याए । उनले जनप्रतिनिधि बस्ने भवनहरु करोडौं मूल्यका हुने तर शिक्षा पाउने थलो विद्यालयका भवनहरु अझै पनि जस्तापाताको छानोमै देखिने गरेको भन्दै यसले शिक्षामा सुधार नआउने बताए । ‘हामीले देखेका छौं, पालिकाका, वडाका भवनहरु भव्य छन्, सुविधा सम्पन्न छन्,’ उनले भने, ‘आफ्ना नानी–बाबुहरु पढ्ने विद्यालय भवनहरु अझै पनि जस्तापाताको छानोमा हुँदासम्म शिक्षाको गुणस्तरवृद्धि हुन सक्दैन् ।’

तपाईको प्रतिक्रिया