बारेकोट भूकम्पको केन्द्रविन्दू हो । भाग्यबस १७ गतेको विनाशकारी भूकम्पमा परी एक जनाको पनि ज्यान भने गएन । यद्यपि त्रिपालभित्र बसेका १५ जनाले चिसोका कारण ज्यान गएको छ । भौतिक संरचनाहरु पुर्ण रुपमा ध्वस्त भएका छन् । अहिले बारेकोटका सबै नागरिकहरु त्रिपालमा रहेका छन् । सबै घरहरुलाई पुननिर्माण गर्नुपर्ने छ । त्रिपालभित्रको दैनिकी निकै कष्टकर भइरहेको छ । हामी अस्थायी आवास निर्माणको प्रक्रियामा छौँ । अस्थायी टहराले मात्रै सबै कुराको सम्बोधन गर्न सक्ने अवस्था रहँदैन । राज्यले उपलब्ध गराएको स्रोत साधन लगायत सबै कुराले टहराभित्र पनि नागरिकलाई धेरै समय राख्न सकिने अवस्था रहन्न, त्यसैले पुननिर्माणको पाटोलाई चाँडो भन्दा चाँडो खोल्नुपर्छ ।
वीरबहादुर गिरी, अध्यक्ष
बारेकोट गाउँपालिका, जाजरकोट
४४ वटा विद्यालय भवनमध्ये सबै प्रयोग विहीन अवस्थामा छन्, सबै ठाउँमा हामी अस्थायी सिकाई केन्द्रहरु बनाइरहेका छौँ । अन्य सरकारी भवनहरुको अवस्था पनि त्यस्तै छ । समर्गमा बारेकोटको अवस्था क्षतिविक्षत र असुरक्षित अवस्थामा छ । यसलाई हामीले अब पुननिर्माणको अवसर हो भनेर पनि बुझेका छौँ । खासगरीकन सिंगो राज्य, राज्यसँग साझेदार गर्ने दातृ निकायहरु, अन्तराष्ट्रिय संघसंस्था, अन्य देश सबैको सहयोग, समन्वयले पुननिर्माणको अभियानलाई जोडेर सुरक्षित बारेकोट निर्माणमा लाग्नुपर्छ भनेर लागिरहेका छौँ ।
अनुदानमा ढिलाई
अनुदान दिने कुरामा यहाँ नागरिक अराजकता पनि छ, किनभने घर भत्किसके पश्चात रातारात मान्छेहरु छुटा भएको देखिने, भाइहरु अलग भएको, छोराहरु अलग भएको पनि देखियो । कतिपय ठाउँमा श्रीमान–श्रीमति नै अलग भएको हामीले पायौँ । त्यो अनुसारको विवरण नै भराउने काम भएको छ । राज्यलाई बलियो बनाउने कुरामा नागरिकको भूमिका पनि अपरिहार्य हुन्छ । यस्ता खालका समस्याको हामी समस्या समाधानको बाटोमा पनि गइरहेका छौँ । अस्थायी आवास बनाउने काम पनि भइरहेको छ भने प्रक्रियागत रुपमा केही ढिलाई हुँदा अनुदान वितरणमा केही ढिलाई भएको जस्तो देखिएको हो । सोमबारबाट हामी अस्थायी आवास निर्माणको पहिलो किस्ता पठाउदैछौँ । लगत संकलनको पहिलो चरणको काम सकिएको छ, त्यसलाई अध्यावधी गर्नुपर्ने काम बाँकी छ । साथिहरुले वडावडामा गएर गरिरहनुभएको छ । पहिलो चरणमा ५ हजार ५८६ घरधुरीको लगत संकलन भएको छ । उक्त संख्या बढी हो कि भन्ने लागिरहेको छ, त्यसलाई अध्यावधी गरिरहेका छौँ ।
दलहरुले बनाएका आवास
खासमा बारकोटमा राजनीतिक दलहरु पुगेर आवास निर्माणको काम खासै भएको छैन । बनाएका आवासको पनि तथ्यांक राख्ने, हामीसँग समन्वय गर्ने काम भएको छैन । दलहरु आफ्नो तरिकाले आउने, आफ्नै तरिकाले आवास निर्माण गरेर जानुहुन्छ, हामीसँग आएर समन्वय गरेर जाने काम भएको छैन । मैले के भनेको छु भने कार्यविधिको मापदण्डलाई अनुशरण गरेर बनाइदिनुहोला । किनकि भोली नागरिकलाई अर्को बनाउनुप¥यो भने त्यो नागरिकलाई स्वयंमसेवा हुँदैन कि अपराध हुनजान्छ । त्यसैले तपाईँहरुले मापदण्ड अनुरुप नै बनाइदिनुहोला भनेर भनेको छु । कतिपय ठाउँमा बनाएका आवासहरु निकै कमजोर छन् । अर्को बारेकोट भौगोलिक रुपमा विकट र टाढा भएकाले दलहरुको सहभागिता खासै भएको छैन । यहाँ एमालेका स्वयंसेवक आएर केही आवासहरु निर्माण गर्नुभएको छ । भेरी, नलगाड नगरपालिका जस्तो राहतदेखि आवास निर्माण लगायतका कामहरु यहाँ भएको छैन । यहाँ टाढा, बाटोको असहजता छ । अहिलेसम्म एमालेले १२५ वटा आवास बनाएको जानकारी गराएको छ । त्यस बाहेक अरु कुनै संघसंगठनले बनाएको रेकर्ड छैन ।
दीर्घकालिन योजना
केवल अहिले जाजरकोटका भूकम्प गयो, यसलाई नै हेरेर नीति, योजना र कार्यक्रम बनायौँ भने हामी असफल हुन्छौँ । सिंगो राज्यले सुरक्षित नेपाल निर्माणका लागि अभियान नै चलाउनुपर्छ । त्यो भनेको भूकम्प प्रतिरोधी नेपाल कसरी बनाउन सकिन्छ ? भन्ने कुरामा राज्यले नै एउटा अठोट लिन जरुरी छ । त्यसो गर्न नसके अर्को विपत्ती आउन सक्छ । त्यसैले अबको दीर्घकालिन योजना भनेको सुरक्षित आवास, बस्ती निर्माण व्यवस्थापन कार्यक्रम राज्यले अगाढि बढाउन जरुरी छ । राज्यले अस्थायी आवासको काम सकिने वित्तिकै पुननिर्माणको काम अघि बढाइहाल्नुपर्छ । सरकारले आफ्नातर्फबाट गर्ने कति ? विभिन्न दातृ निकायबाट गर्ने कति ? अपिल गर्ने, आह्वान गर्ने के हो ? त्यो सबै काम अघि बढाउनुपर्छ । तीनवटै तहका सरकारबीच समन्वय, सहकार्यका माध्यमबाट पुननिर्माणका लाग्छु बाहेक विकल्प छैन ।
संघीय सरकारले बनाएको कार्यविधिमा केही कमजोरी छन् । स्थानीयको आवाश्यकता अनुसार कार्यविधि छैन । कार्यान्वयन गर्दा समस्या हुने कुरा मैले सुरुदेखिनै राख्दै आएको छु । प्रदेश सरकारले र स्थानीय सरकारले अब त्यसको कार्यान्वयन गर्नुको विकल्प छैन । अहिले कार्यविधिलाई थप सञ्च्याइएको छ । कार्यविधिले प्रदेश सरकारको भूमिकालाई अलग राख्न खोजेको हो कि भन्ने देखिन्छ । यसलाई अझै मजबुद बनाउने अघि बढ्नुपर्छ । प्रदेश सरकारले विनियोजन गरेको रकम पुननिर्माणमा कन्भट गरेर अघि बढ्नुपर्छ ।
– सुर्खेतबाट प्रकाशित प्रदेश रैबारमा प्रकाशित भएको छ ।
नेपालीरैबार । २०८० मंसिर २६, मंगलवार