देश चिनाइरहेकी कर्णालीकी सुनमाया !

सुर्खेत । जुम्लाको विकट पेरे गाउँमा जन्मिएकी हुन्, धाविका सुनमाया बुढा । २५ बर्षीया उनले विश्वसँग प्रतिस्वर्धा गरेर नयाँ कीर्तिमानी बनाइरहेकी छिन् । उनले आफुसँगै देश चिनाइरहेकी छिन् । ९ तारिकमा हङकङमा सम्पन्न भएको ‘द नर्थफेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी छिन्, सुनमायाले । ३०० बढी विश्वका प्रतिस्पर्धीहरुलाई पछि पार्दै सुनमायाले नयाँ कीर्तिमान बनाइन् । रातको समयमा भएपनि सुनमायाले उक्त प्रतियोगिता जितिन । उनले १४ घण्टा ४० मिनेटमा उक्त रेस पुरा गरेकी हुन् । राति १० बजेबाट दौड सुरु गरेकी उनले बिहान ११ बजेतिर उक्त दौड पुरा गरेकी थिइन् ।

 धाविका सुनमाया । तस्वीर

दोस्रो र तेस्रो स्थान चाइनिज अल्ट्रा धावकहरुले जिते । उनले ८ किलोमिटरको दुरी जति बिचमा बाटो बिराएकी थिइन् । यद्यपि त्यो सहित जोडेर १०८ किलोमिटरको दौड पुरा गरिन् । हङकङमा मात्र सुनमायाको यो वर्ष लगातार पाचौँ जित सहितको नयाँ कीर्तिमान हो । तर, यसअघि नै उनले धेरै देशका प्रतियोगितामा भाग लिएर आफ्नो क्षमता देखाइसकेकी छन् ।

यसअघि ०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन् । त्योबेला उनले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पूरा गरेकी थिइन् । स्वीटजरल्याण्ड, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रिेलिया लगायतका देशमा आयोजित दौड प्रतियोगितामा उनी सहभागी भइसकेकी छन् । थाइल्याण्डपछि ०२२ मा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनले दोस्रो स्थान हासिल गरेकी थिइन् ।

सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेकी छन् । उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छन् । सुनमाया पछिल्लो समय शीर्ष वरीयताकी धाविकाको रुपमा चिनिन्छन् ।

सुनमायाको संघर्ष र यात्रा

सानैदेखि खेलमा रुचि थियो, उनको । आर्थिक अभाव र परिवारको असहयोग रहँदा पनि उनी खेलतर्फ नै अग्रसर भइरहिन् । ७ कक्षामा पढ्दै गर्दादेखि गेम खेल्न सुरु गरिन् । बाआको चाहना थियो, सानै भए पनि छोरीले सरकारी जागिर खानुपर्छ । कक्षा १० को परीक्षा दिइसकेपछि बाआमाले गाउँभन्दा बाहिर गएर पढाउन नसकिने बताएका थिए रे । बरु पढाइको साटो बिहे गर्ने सुझाव दिएका थिए, उनी भन्छिन् । बाआमाको भनाइ थियो, ‘बिहे गरेर पनि पढ्दा हुन्छ, हामीसँग आर्थिक अवस्था पनि राम्रो छैन ।’ यद्यपि इच्छा र चाहनाले आफु खेलतर्फमै अग्रसर भएको उनले बताइन् । बिहे गर्ने प्रस्ताव अस्वीकार गरेर सदरमुकाम खलङ्गा लागिन् ।

उनको ध्यान कलेजभन्दा खेलतिर केन्द्रित हुन थाल्यो । विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट उनको खेल करिअरको सुरुवात भयो । सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकी हुन् । पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी भएको काठमाडौंको गोदावरीमा हो, जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन् । उनी विस्तारै ‘ट्रेल रेस’ मा जम्दै गइन् । अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन्, धाविका भएर उनले कर्णालीको मात्र होइन, सिङ्गो देश चिनाइरहेकी छन् ।

उनका अनुसार करिअरको सुरुवातमा गेम नेखेल पैसा आउँदैन भनेर सबैले सल्लाह दिन्थे रे । ‘मैले खेलप्रतिको चाहनालाई त्याग्न सकिनँ,’ उनी भन्छिन्, ‘चार बर्षसम्म पनि परिवारबाट मलाई गेम नखेल्न आग्रह आइरहन्थ्यो । तर अहिले परिवारको सपोर्ट निकै छ ।’ जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी सुनमाया आज विश्वभर छाइरहेकी छिन् । थाइल्याण्डमा भएको खेलमा ११० किलोमिटरको दुरी बिहान ८ बजेदेखि सुरु गरेर राति ११ बज्नै लाग्दामा पूरा गरेकी थिइन, उनले । जुन दौड आफ्नो जिन्दगीको ठुलो उपलब्धिका रुपमा उनी लिन्छिन् ।

ती कठिन क्षणहरु

यसरी अन्तराष्ट्रिय स्तरमै नाम आउला भनेर उनले कहिलै सोचेकी थिइनन् । संघर्ष र लगाव नै हो–जो उनले निरन्तर गरिन् । र, आज विश्वभर छाइन् । यद्यपि त्यो भित्रका संघर्ष र भूल्नै नसकिने क्षणहरु कति छन्, कति । यो गेम आफैमा शाहसी मानिन्छ । उनी भन्छिन्, ‘जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन । यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ । जसले प्रतियोगितामा सहजता हुन्छ ।’
पहिलो पटक नेपालबाट गेम खेल्न विदेश जाँदाको अनुभव उनको जिन्दगीमा कहिलै भुल्न नसकिने क्षण रहेछ । भनिन्, ‘गाउँबाट काठमाडौँसम्मको यात्रा नै निकै ठुलो संघर्ष थियो, काठमाडौँबाट विदाई हुँदा सबैका आफन्तहरु विदाई गर्न आउँथे, मेरो कोही हुँदैन थियो । यो क्षणले मनमा निकै घोच्थ्यो । खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो । तालिम गर्दा डाइट खान पाउँदैनथ्यौँ, पैसा हुँदैनथ्यो । राम्रो जुत्ता हुन्थेन । भए पनि साइज नमिल्ने । ठुल्ठुलो साइजको जुत्ता लगाएर पनि दौडनुपरेको छ ।’

अहिले भने सुनमायालाई नर्थ फेस हङकङबाट सहयोग प्राप्त भइरहेको छ । अहिलेसम्ममा रेसमध्ये यो पटकको रेस निकै कठिन थियो, उनका लागि । किनकी यसअघि प्रायःदिनमा दौड्नुपर्ने खेल हुन्थे । यो पटक रातको थियो । रातको समयमा दौड गर्दा निकै समस्या भएको उनले बताइन् । उनले भनिन, ‘यसअघिका रेसहरु रात परेपनि निकै कम समयको हुन्थ्यो, यो पटक त राति १० बजेबाट सुरु भयो । एलोभेजन निकै हाई थियो, नेपालमा त माटो हुन्छ, दौडन पनि सजिलो हुने, सफ्ट हुन्छ । तर, यहाँ त उकालो–ओरालो जताततै सिँढी मात्रै समथर भागमा पुरै पिच गरिएको थियो । माटोको ट्रेल त नाम नै थिएन ।’

बिचमा बाटो बिराएपछि सुनमायालाई यो गेम जित्ने आशा मर्यो । ८ किलोमिटरको दुरी बाटो बिराउँदा आफु प्रथम हुन्छु भन्ने आशा मारेको उनले बताइन् । यद्यपि बाटो भेटाई उनी प्रथम भएर नै छाडिन् । यो पटकको दौड विगतको भन्दा निकै भिन्न र कठिन रहेको उनले भनाइ छ । अझै खेलहरु खेल्ने र देशलाई नै चिनाउने सपना सुनमायाको छ । अझै यात्राका माइलहरु बाँकी नै रहेको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया