मकवानपुरमा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

हेटौँडा,। मकवानपुरको बकैया गाउँपालिका-११ स्थित सिमलट्वाकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा अनुसार स्थानीय ३७ वर्षीय सोमबहादुर नेसुरले आफ्नो घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नेसुरको घरमा बन्दुक रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिङ्गनबाट गएको प्रहरी टोलीले निजको घर खनतलासी गर्दा भुईँ तले घरको चोटाबाट भरुवा बन्दुक दुई नाल र सोमा लाग्ने बारुद, छर्रा फेला पारेको थियो ।

बरामद गरिएको हतियारसहितका सामग्री र निजलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया