नेपाली सेनाको टोली निकुञ्जअन्तर्गत चुरे पर्वत यात्रा

बाँके, । वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो ।

सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताए । “यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यस पटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवर्द्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ”, उनले भने ।

निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरूलाई कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ । “बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नु सेनाको पनि दायित्व हो”, उनले भने, “सो अवसरमा पर्यटकीय भू(भागबारे स्थलगत अध्ययन गरिएको थियो ।” दाङ, सल्यान र बर्दियाका भू(भागलाई छुने निकुञ्जमा धेरै घाँसे मैदान छन् ।

उक्त चुरे भ्रमणमा श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापासँगै प्रमुख सेनानी रोजेश खत्री, प्रमुख सेनानी दीपक गुरुङ र अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काको सैन्य टोली संलग्न थियो । सेनाका अधिकारीहरूले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरूको पनि स्थलगत निरीक्षण गरेका थिए ।

निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो । टोलीमा संलग्न पर्यटन व्यवसायी कृष्ण चौधरीले निकुञ्जभित्रको चुरे पर्वत शृङ्खला एक दिने पदयात्राका लागि प्रख्यात मानिएको बताए “पर्यटकहरूले चुरेमा पदयात्रा गर्दा हिमाल चढेको महसुस गर्छन्”, उनले भने । चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई एक हजार शुल्क र विदेशी पर्यटकका लागि एक हजार सात लिने गरिएको छ ।

तपाईको प्रतिक्रिया