चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत ‘हिँड माया हिँड’

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।

‘चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिले पहिले चेलीबेटीहरूलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ’ हरिवंशले भने ‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो ।’ मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ लगेपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ ।

साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ ।

गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरूलाई ललाई फकाई गरेर विदेश लगिन्छ भन्ने कथा देख्न सकिन्छ । उक्त गीतको भिडियो पवन सुस्लिङले खिचेका हुन् भने भिडियो सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

तपाईको प्रतिक्रिया