नवलपुरमा यौनजन्य हिंसाको अवस्था भयावह

कावासोती। नवलपुरमा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था भयावह रूपमा देखा पर्न थालेको छ ।

पछिल्लो समय कुनै अप्रिय घटना जिल्लामा नभए पनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । कावासोतीमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रममा सो कुरा बताइएको हो । नवलपुरमा यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैरराज्य पक्षबाट पीडित भएका छन् । हत्या एक, कुटपिट नौ, आगजनी एक, बलात्कार दुव्र्यवहार १७, अमानवीय व्यवहार एक, महिलाविरुद्ध घरेलु हिंसा आठ, बहुविवाहका एक घटना रहेको देखाइएको छ ।

जिल्लामा बलात्कार र यौन हिंसाका घटना बढी भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौन हिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । छ वर्षीय बालिकादेखि ५७ वर्षीय महिलासमेत यौन हिंसाबाट पीडित भएका छन् ।

इन्सेकको अभिलेख अनुसार नवलपुरमा सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ वटा घटना अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पङ्गेनीले जानकारी दिईन् । गत वर्ष ३७ घटना अभिलेख भएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले पछिल्लो समय पुरुषसमेत हिंसामा परेका घटना समाजमा देखिने गरेको भन्दै पुरुषमाथि भएका हिंसालाई पनि इन्सेकले अभिलेख गर्न सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालयले यौनजन्य हिंसालाई न्यूनीकरण गर्नकै लागि विद्यालयमा सचेतनाको कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। उनले द्वन्द्वको समयमा इन्सेकले मानव अधिकारको सवालमा निकै राम्रो काम गरेको स्मरण गर्दै मानव अधिकार रक्षाका लागि इन्सेकसँग आफूले समेत सहकार्य गर्दै आएको बताए ।

तपाईको प्रतिक्रिया