चिसोबाट छालालाई जोगाउने उपाय

काठमाडौँ,। चिसो मौसममा छालामा धेरै समस्या आउने गर्छ । चिसो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ । जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको भनाइ छ ।

चिसो मौसम छालाका लागि अनुकूल मानिँदैन । सौन्दर्यविद् सुषमा महराका अनुसार चिसो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्‍याउँछ । विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

जाडोमा छाला सुक्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन् । त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जाने उनले भनिन्। कतिपयलाई छालाको एलर्जीसमेत हुने हुनाले जाडोमा लगाइने क्रिम (मोस्चराइजर) छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने सुझाव दिएकी छन् ।

सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छाला अनुसारको क्रिम (मोस्चराइजर) छनोट गर्नुपर्ने उनको सुझाव छ । जाडोमा धेरैले घामको विकिरणसँग सुरक्षा गराउने क्रिम (सनस्क्रिन) प्रयोग गर्दैनन् । जाडो होस् वा गर्मीको मौसम, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।

यसै गरी हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ । जाडो महिनामा हातको छाला जोगाउन पन्जा लगाउनुपर्ने सुझाव दिँदै विशेष गरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रूपमा पन्जा लगाउनु पर्छ ।

मनतातो पानीले नुहाउनु पर्छ । नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ । यसले पनि शरीरलाई सुक्खा हुनबाट बचाउँछ । कसैको निकै सुक्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुक्खा हुन पाउँदैन ।

छालालाई स्वस्थ राख्नेभन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ । यद्यपि यसमा आन्तरिक रूपमा नै सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्ने उनको सुझाव छ । उनका अनुसार जाडोमा हिटर तापिन्छ । लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ ।

तपाईको प्रतिक्रिया