सुर्खेत विमानस्थल सर्ने हल्लामा सत्यता कति ?

सुर्खेत । कर्णाली प्रदेशको मुख्य सहर वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थललाई रुपान्तरण गर्ने विषयमा अध्ययन गर्ने पत्रले यतिबेला सामाजिक सञ्जालमा तरगं पैदा गरेको छ । ५७ वर्ष पुरानो यो विमानस्थलबाट हाल काठमाडौंतर्फ दैनिक तीन उडान हुँदै आएका छन्, भने कर्णालीका विकट जिल्लामा पनि उडान हुँदै आइरहेका छन् ।

पछिल्लो केही दिन यता सो विमानस्थललाई सार्ने भन्ने हल्लाको विषयमा सामाजिक सञ्जाल तातिएको छ । नेपाल नागरिक उड्डेन प्रधिकरणको पत्रले यतिबेला सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भईरहेको छ । सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद एवम पूर्व मन्त्री हृदयराम थानीले सोमबार सामाजिक सञ्जालमा सुर्खेत विमानस्थलका बारेमा स्टाटस लेखेर सरकारका विभिन्न निकायले तयार पारेका पत्रहरु सार्वजनिक गरिदएिसँगै सुर्खेत विमानस्थललाई रुपान्तरण गराउने योजना बाहिरिएको थियो ।

सांसद थानीले हालकै विमानस्थलको रनवे बढाएर ठूला जहाज बस्ने बनाउन आवश्यक रहेको बताउँदै आएका छन् । सांसद थानिको सो स्टाटसले सामाजिक सञ्जालमा सुर्खेत विमानस्थललाई सार्ने निर्णय भएको विषयमा पक्ष र विपक्षमा बहस, टीका टिप्पणीको चर्चा भईरहेको छ ।कर्णालीको राजधानीमा रहेको विमानस्थललाई नै स्तरोन्नती गर्ने र त्यसका लागि आवश्यक बजेट दिन सकिने गरि कर्णाली प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता समेत गरेको थियो ।

कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ असोज १५ गते उक्त सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार विमानस्थलको रनवे बढाउनेबारेमा विभिन्न अध्ययन भएका थिए । नागरिकलाई मुआव्जा दिन भन्दै प्रदेश सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आइरहेको थियो,तर मुख्यमन्त्रीका रुपमा काँग्रेसका जीवनबहादुर शाही आएपछि भने विमानस्थल विस्तार गर्ने निर्णय नै क्लोज गरेका थिए ।

हाल सार्वजनिक भएको पत्रमा सुर्खेतको रामघाटमा हालको बिमानस्थलको विकल्पमा बिमानस्थल बनाउन ईआइए गर्ने र सर्तहरूको बुँदा नं ७ मा रामघाट बिमानस्थल बनेपछि हाल संचालनमा रहेको सुर्खेत बिमानस्थललाई बनक्षेत्रका रुपमा बिकास गर्न सकिन्छ वा सकिँदैन भनी ईआइएमा बिकल्प बिश्लेषण गर्ने निर्णय २०८० वैशाख २७ गतेको पत्रमा उल्लेख गरिएको छ । यी सबै पत्रहरु सार्वजनिक भएसँगै कर्णालीका नागरिकहरु भने भइरहेकै विमानस्थललाई थप सुदृढ बनाउनुपर्ने बताउँदै आएका छन् ।

यता वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले भने वीरेन्द्रनगर नगरपालिका बाहिर विमानस्थल बन्ने कुरा कल्पना पनी गर्न नसकिने बताईन् । नेपाली रैबारले सोधेको प्रश्नमा प्रमुख ढकालले उक्त पत्रमा पनि नयाँ विमानस्थल निर्माण सञ्चालन भए वन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । या सकिदैन भन्ने कुरा स्पष्ट रहेको बताईन् । उनले २०७७ सालमा तत्कालिन नगर प्रमुख देव कुमार सुवेदीको नेतृत्वमा भएको पत्रको विषयमा पनि विमानस्थल सार्न कुरा नभएको प्रष्टाईन्  ।

यता नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कंडेलले हाल सञ्चालनमा रहेको सुर्खेत विमानस्थल सार्न नहुने बताएका छन् । नेता कंडेलले सुर्खेत विमानस्थलको तत्काल विकल्प सोच्ने कुरा गलत भएको बताउँदै बरु मुआव्जा दिन र विमानस्थलको धावनमार्गसहितका पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताएका हुन । नयाँ विमानस्थलका बारेमा भविष्यमा सोच्न सकिने धारणा राख्दै हाललाई सुर्खेत विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताएका छन् ।

यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले हालको विमानस्थललाई ३ सय मिटर बढाउनु पर्ने बताए । उनले पत्र आउदैमा विमानस्थल सरिहाल्छ भन्ने कुरा अनुचित नहुने बताए । उनले कौवाले कान लग्यो भन्दैमा कौवाको पछाडी दौड्ने कुरा ठिक नहुने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया