नयाँ चलचित्र ‘राजमहल’मा आँचल र रमेशको अभिनय

काठमाडौँ । नयाँ फिल्म ‘राजमहल’ बन्ने भएको छ । बिहीबार साँझ काठमाडौँमा एक कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो । उक्त फिल्ममा आँचल र रमेशको अभिनय रहने छ । फिल्म सविन कुमार तोलाङ्गीले निर्देशन गर्न लागेका हुन् ।

माघ पहिलो साताबाट छायाङ्कन थालिने फिल्ममा लेखन पनि निर्देशक तोलाङ्गीकै छ । फिल्ममा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, सिम्रन पन्त, पवित्रा साकी (मिस पबी), अर्जुन श्रेष्ठ, दिनेश सिग्देल, अजय लामा, अजय रोक्का, पूजा भण्डारी लगायतको अभिनय रहनेछ ।

कार्यक्रममा फिल्मले राजमहल भित्रको कथा उठाउने जानकारी गराएको छ । छहारी मल्टीमिडियाको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा ऋषि लामिछाने छन् भने निर्मातामा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ, अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र युवराज कार्की रहेका छन् ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन तथा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत रहनेछ । नेपालसँगै अस्ट्रेलिया र न्यूजिल्यान्डमा छायाङ्कन हुने फिल्मको बजेट ४ करोड बताइन्छ ।

कार्यक्रममा अभिनेता रमेश उप्रेतीले फिल्मको कथावस्तु एकदमै चुनौतीपूर्ण रहेको बताए । उनले फिल्मको जुन कन्टेन्ट छ त्यसमा आफूलाई भन्दा निर्माता निर्देशकलाई चुनौती रहेको उनले सुनाए ।

त्यस्तै, अभिनेत्री आँचलले स्क्रिप्ट पढ्दा राजमहलभित्र कस्तो माहौल हुन्छ भन्ने महसुस गर्न पाएको बताइन् । उनले फिल्मको पात्रलाई लिएर आफू एकदमै उत्साहित रहेको धारणा राखिन् ।

तपाईको प्रतिक्रिया