जहाज खरिदमा कुनै त्रुटि नहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढङ्गले अगाडी बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोउन् ।”

“हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौँ । त्यसैले तपाईँहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ ।”

“एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो कुरा गरे पनि काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको छ,” प्रधानमन्त्रीले भने, “राम्रो नदेख्ने रोग बढ्दो छ । दर्शक-स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ । यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन् । यो कुरालाई हामीले बदल्नुपर्छ ।”

तपाईको प्रतिक्रिया