राष्ट्रियसभाका लागि कांग्रेस कर्णालीबाट चर्चित युवा नेतादेखि मन्त्री भइसकेकाहरुको लर्को

को को छन् आकांक्षी ?

सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरुको लाइन नै लागेको छ । हाईप्रोफाइलदेखि मन्त्री समेत भइसकेका कांग्रेसका नेताहरु राष्ट्रिय सभामा जान चाहिरहेका छन् । राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ । सोही अनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन् ।


कर्णालीबाट एउटा अन्य, दलित र महिला सिटमा उम्मेदवार हुनेछन् । राष्ट्रिय सभाका लागि कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा देखाएका छन् । कालिकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक–पटक चुनाव हारेका व्यक्ति हुन् । यद्यपि उनी युवा वर्गमा निकै चिनिएका नेता हुन् । पार्टीभित्र प्रदेश कमिटीको सभापतिमा समेत पराजय भोगेका शाहीले राष्ट्रिय सभामा जान चाहेका हुन् । कालिकोटबाटनै कालिबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ । हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुन मन्त्री समेत भइसकेका नेता हुन् । रंग शाही पनि गणतन्त्र भन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन् ।

सुर्खेतबाट डम्बर जिसी लगायतका पुराना नेताहरु छन् । मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाया, मानबहादुर नेपाली, सल्यानबाट पुर्व केन्द्रिय सदस्य विन्दु रेग्मी, धुर्व पुरी लगायतका नेताहरुको नाम चर्चामा छ । जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ । उनी ०७४ मा प्रदेश सभा सदस्य भई जलस्रोत तथा ऊर्जा मन्त्री समेत भइसकेका नेता हुन् । लंक बहादुर शाही लगायत अन्य नेताहरुले पनि चाहना देखाएका छन् ।

महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाया शाही, यशोदा शाही लगायतको नाम चर्चामा छ । गठबन्धन भएमा कांग्रेसले कर्णालीमा तीन वटा मध्ये दुई वटा सिट पाउनुपर्छ भनेर केन्द्रलाई भनेको एक नेताले बताए । पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारको नाम पठाउन भनेपछि सोमबार जिल्लाबाट आएका नामउपर प्रदेश कमिटीले छलफल चलाएको छ । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा र नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति सदस्य एंव कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सहभागितामा छलफल भइरहेको हो । राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन नै हुने लगभग निश्चित देखिएको छ ।

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार सोमबारको बैठकमा विविध विषयमा छलफल चलिरेको छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ । मंगलबार आज बिहान पुनः छलफल चल्ने र निष्कर्षमा पु¥याइने छ । उम्मेदवारको नाम पनि आजै नै टुङ्गिने छ ।

तपाईको प्रतिक्रिया