आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसभन्दा अघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपियाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपियाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया