सुजनकी बिरामी आमालाई भनिएको छ– छोरा आइसियूमा छ

‘ढाँटेका हुन् कि, साँचो हो भनिदेऊ न, मेरो बाबु (छोरा) आइसियूमा छ र ?’ घरमा नयाँ मान्छे पुग्नेबित्तिकै सुजनकी आमा नन्दा कटुवाल प्रश्न गर्छिन्

दैलेख ।  रोजगारीका लागि कोरिया जान्छु भनेका दैलेखका २३ वर्षीय सुजन राउतको शुक्रबार बालकुमारी घटनामा ज्यान गइसकेको छ । तर, छोराको मृत्युको खबर बिरामी आमा नन्दा कटुवाल (राउत)लाई दिइएको छैन ।

उनलाई सुजन घाइते भएर अस्पतालको आइसियूमा उपचाररत रहेको सुनाइएको छ । ‘ढाँटेका हुन् कि , साँचो हो भनिदेऊ न, मेरो बाबु (छोरा) आइसियूमा छ र ? ’ घरमा नयाँ मान्छे पुग्नेबित्तिकै कटवाल प्रश्न गर्छिन् । उनी सुगर र प्रेसरकी बिरामी हुन् ।

नन्दाका भाइ यामराज कटुवालले भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई समस्या हुने डरले सत्य भन्न नसकिएको बताए । नन्दाका श्रीमान् भक्तबहादुर राउतको एक वर्षअघि मात्रै ब्रेन ट्युमरका कारण ज्यान गएको थियो ।

श्रीमान् बितेको करिब दुई महिनामा उनले आमा गुमाएकी थिइन् । ‘आमाको मृत्यु भएका वेला दिदी बेहोस हुनुभएको थियो, अस्पताल लगेर मात्र पछि होस आएको हो ।

अहिले फेरि छोराको मृत्युबारे सुनाउँदा समस्या हुन्छ कि भनेर मोबाइल पनि हेर्न दिएका छैनौँ,’ यामराजले भने । महाबु गाउँपालिका स्थायी घर भएका राउत परिवार नारायण नगरपालिका– १ मा बस्दै आएको छ । बाबु बितेपछि आमा, बहिनी र भाइको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो ।

– नयाँ पत्रिका

तपाईको प्रतिक्रिया