सन्दीपलाई आठ वर्ष जेल सजाय, पाँच लाख क्षतिपूर्ति

काठमाडौँ । बलात्कारका दोषी क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ । त्यसैगरी उनले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला काठमाडौँ जिल्ला अदालतले सुनाएको छ ।

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका थिए । सोही संहिताअनुसार सन्दीपलाई ७ देखि १० वर्षसम्म सजाय हुने उल्लेख भएकामा ८ वर्ष सजाय तोकिएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

सन्दीप राष्ट्रिय टिमको कप्तान भएका बेलामा गत वर्षको भदौ ५ गते उनले ती पीडितमाथि राजधानीको गौशालामा रहेको एक होटलमा बलात्कार गरेका थिए । पीडितले जबरजस्ती करणीको आरोपमा भदौ २१ गतेमात्र जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीलाई प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएपछि भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

क्रिकेट खेल्न विदेश गएका बेलामा पक्राउ पुर्जी जारी भए पनि उनी नेपाल भने एक महिनापछिमात्र फर्केका थिए । असोज २० गतेमात्रै नेपाल फकिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले प्रक्राउ गरेको थियो ।

त्यसपछि कार्तिक १४ गते प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनी जेलमा रहेर अनुसन्धान भइरहँदा उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए । उनी थुनामुक्त मात्र भएनन् राष्ट्रिय टिममा रहेर क्रिकेट पनि खेले । उनलाई उच्च अदालतले विदेश जान नपाउने भनेको भए पनि विदेश जानका लागि सर्वोच्च अदालतमा गएसँगै उनले त्यो सुविधा पनि पाएका थिए ।

तपाईको प्रतिक्रिया