अब आफ्नै गाडीबाट ट्रायल दिन पाउने व्यवस्था

काठमाण्डौ । लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा आफ्नै गाडीबाट ट्रायल दिन पाउने व्यवस्था लागू हुने भएको छ ।

सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर ट्रायल परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसार अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने क्रममा प्रयोग हुने गाडी स्वेच्छाले प्रयोग गर्न सक्नेछन् ।

बुधवार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरूसँगको छलफलमा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले सेवाग्राहीलाई आफ्नै गाडी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसारअब निजी गाडीले नै ट्रायल दिन पाउने तर गाडी जाँच गरेर स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । लाइसेन्स परीक्षा सञ्चालनसम्बन्धीको जिम्मेवारी अहिले पूर्णरूपमा प्रदेश मन्त्रालयअन्तर्गत छ । अहिले लाइसेन्सको लिखित परीक्षामा पास हुन १०० पूर्णाङ्कमा ६० अङ्क ल्याउनुपर्छ र ट्रायल परीक्षामा ७० अङ्क कटाए मात्रै पनि पास हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया