सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका,यसको मुटुमा रहेको छ, मंगलगढी चोक, मंगलगढी चोक वीरेन्द्रनगर नगरपालिका वडा नं. – ९ साविकको (लाटीकोइली गाबिस) जोडिएको छ । यसैमा एउटा सुन्दर बस्ती छ, सत्यकाँडा । सत्यकाँडाबाट सुन्दर वीरेन्द्रनगर उपत्यका देख्न सकिन्छ । वीरेन्द्रनगर बजारको पुरै भाग त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ’पर्यटकीय हिसाबले पनि सत्यकाँडा महत्वपूर्ण रहेको छ ।
पर्यटकलाई लक्षित गरेर सत्यकाँडा डाँडामा टावर निर्माण गरिएको छ । त्यहाँबाट सुर्खेत जिल्लाका सबै भाग देखिने गरेको वीरेन्द्रनगर ९ का वडाध्यक्ष ऋषि गिरीले बताए । ‘टावरसम्म जानका लागि अहिले बाटोको स्तरउन्नती गर्ने काम भइरहेको छ ।’ उनले भने,‘केही भौतिक संरचनाहरु पनि बनाउँदैछौं ।’
त्यस्तै, वीरेन्द्रनगर नगरपालिका अवलोकन गर्नका लागि सत्यकाँडाको देउरालीमा केही संरचना बनाएको त्यहाँसम्म पर्यटकका लागि सडक स्तरउन्नतीको काम भइरहको वडाध्यक्ष गिरीले बताए । ‘हिउँदमा पारिलो घाम लाग्छ । न्यानो हुन्छ । सुन्दर सुर्खेत उपत्यका हेर्न पाइन्छ ।’ उनले भने,‘गर्मीयाममा शिरशिर सितल हावा चल्छ । यसले पर्यटकलाई झनै रोमाञ्चक बनाउँछ ।
बस्ती फर्काउने वडाध्यक्षको पहल
विस्थापित भएको बस्ती फर्काउनका लागि वडाध्यक्षले पहल थालेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गिरीले बस्ती फर्काउनका लागि पहल थालेका हुन् । बस्ती फर्काउनका लागि मैले आफै त्यहाँ चार कठ्ठा जमिन खरीद गरेको छु उनले भने, अहिले त्यहाँ सडकको सामान्य ट्याक खोलिएको छ । अन्य काम पनि गर्न थालिएको छ ।’ गिरीले बस्ती बसे विकास हुने नत्र बस्ती नभई केही गर्न नसकिने बताए । उनले भने,‘बस्ती नभए के विकास गर्नु ?’
अहिले सत्यकाँडामा दुई चार घर रहेको दुई चार घरका लागि खानेपानीको सुबिधाका लागि खानेपानीका कुवाँ व्यवस्थित गरिएको सत्यकाँडासम्म बिजुली बत्तिका लागि पोल गाडिएको विद्युतले केही समयमा विद्युत जडान गर्ने जानकारी आफुले पाएको वडाध्यक्ष गिरीले जानकारी दिए ।
जग्गा किन्दै व्यवसायी
व्यवसायिक योजनासहित वीरेन्द्रनगर बजारका केही प्रतिष्ठित व्यवसायीहरुले सत्यकाँडामा जग्गा खरीद गरेका छन् । वीरेन्द्रनगर बजारमा व्यवसायी मदन खड्काले व्यवसायिक योजनासहित सत्यकाँडामा रहेको बाँझो जमिन खरीद गरेको बताए । ‘केही व्यवसायिक योजनासहित त्यहाँ केही जग्गा खरिद गरेको छु ।’ उनले भने,‘म केही समयमा नै त्यहाँ व्यवसायिक योजना बनाएर काम गर्दैछु ।’
द्वन्द्वकाल विस्थापित भयो सत्यकाँडा
सत्यकाँडा गाउँमा कुनैबेला २६ भन्दा धेरै घरधुरीको बसोबास रहेको थियो । गाउँ नजिकै स्कुल रहेको थियो । अहिले सत्यकाँडा गाउँमा तीन घरधुरीको बसोबास रहेको छ । अन्यसबै घरधुरी द्वन्द्वकालमा विस्थापित भएर वीरेन्द्रनगरलगाएतका अन्य ठाउँमा गएको सत्यकाँडामा हालसम्म बसिरहेका भीमबहादुर बुढाथोकीले बताए । ‘जंगलको बस्ती भयो । द्वन्द्वकालरत पक्षको डर निकै थियो । त्यसैले सम्पती हुनेहरु यहाँबाट सम्पती छाडेर गए ।’ उनले भने,‘हामी जस्ता गरिबहरु जान सक्ने अवस्था रहेन । यतै बसेका छौं ।
सत्यकाँडा बस्तीमा द्वन्द्वका बेलामा बस्ती छाड्नुको एउटा कारण माओवादी पक्षको डर रहेको बुढाथोकीले बताए । ‘यो गाउँका अंधिकास घरमा एक दुई जना सेना, प्रहरी नभएको घर नै थिएन् ।’ उनले भने,‘संकटकालपछि यहाँको बस्ती विस्थापित भएको हो ।
बस्ती विस्थापित हुनुमा खानेपानीको समस्या पनि एउटा पाटो रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. – ९ का वडा सदस्य रत्ना नेपालीले बताइन् । ‘पहिलो त यहाँ खानेपानीको समस्या रहेको छ । यो गाउँमा दुई वटा खानेपानीका कुवाँ छन् । बस्ती धेरै थियो ।’ उनले भनिन्,‘सेवा सुबिधा कम हुँदा बस्ती सेवा सुबिधाका लागि बस्ती अयन्त्र सरेको हुनुपर्छ ।’
नेपालीरैबार । २०८० पुष २७, शुक्रबार