फेला पर्‍यो त्रिशूलीमा खसेको गाडी

काठमाण्डौँ । आज बिहान त्रिशूली नदीमा खसेको गाडी फेला परेको छ। भारतीय नम्बर प्लेटको बोलेरो गाडी गोताखोरको टोलीले फेला पारेको हो। गाडीको नम्बर खुलिसकेको छैन।

नदीभित्र डुबेको अवस्थामा गाडी फेला परे पनि यात्रुलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। गाडीसँगै यात्रु पनि नदीमा डुबेको आशंका छ। तर, त्यसमा कति यात्रु सवार थिए खुलेको छैन।

चितवनको मुग्लिननजिकबाट कुनै सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा प्रहरीले आज बिहानैबाट खोजी सुरु गरेको थियो ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ। स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो।

नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना-५ स्थित ३ नम्बर पुलनजिकबाट सवारी साधन त्रिशूली नदीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ।

सुरुमा एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाली सेनाको जनशक्ति खोजी कार्यमा जुटेको हो।

तपाईको प्रतिक्रिया