सातौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १ गतेदेखि

काठमाडौं। ४० देशका ८८ वटा चलचित्र समावेश भएको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यही चैत्र १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको यो महोत्सवमा ६० देशबाट प्राप्त ५०० बढी चलचित्र मध्ये बाट ४० देशका ८८ वटा फिल्म छानिएको हो।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ। दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा विभिन्न १४ वटा अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ डन क्विहोटे अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

चैत्र ५ गतेसम्म चल्ने महोत्सवको चलचित्रहरू क्यूएफएक्स अन्तरगतका हलहरूमा प्रदर्शन हुनेछन् ।

तपाईको प्रतिक्रिया