अमेरिका उडे अभिनेता राजेश हमाल र जितु नेपाल, टिभी शोको तयारी गर्दै राजेश हमाल

काठमाडौं। मंगलबार बेलुका अभिनेता राजेश हमाल र जितु नेपाल अमेरिका उडेका छन् । राजेश हमाल यो पटक गरि धेरै पटक अमेरिका गएका छन् ।


हमालको लागि यसपटकको अमेरिका यात्रा महत्वपूर्ण छ किन भने उनले त्यहाँ बसोबास गर्ने र आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका नेपालीलाई भेट्दैछन् । ती नेपालीसँग अन्तरक्रिया र छलफल गर्ने हमालले बताएका छन् ।

स्रोतका अनुसार हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ । उनले यसअघि नै टिभी शो ल्याउने र विदेशमा बसोबास गर्ने नेपालीको ‘सक्सेस स्टोरी’ त्यहाँ समेट्ने बताएका थिए ।

गत साउनमा हिमालय टिभी एचडीको कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै हमालले विश्व घुमेर आफूले टिभी सिरिज ल्याउन लागेको बताएका थिए ।
‘मेरा लागि मात्र होइन, नेपाली टेलिभिजनकै लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा नेपाली विदेश जानुभएको छ । त्यहाँ उहाँहरुको सफलताको कथा पनि छ । व्यापार, अध्ययन, कला, राजनीति, समाज सबैतिर उहाँहरुले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सफलताको यी कथामा सिरिज बन्नेछ,’ उनले भनेका थिए ।

हमाल फेब्रुअरी ६ मा स्वदेश फर्किंदैछन् । अमेरिका लाग्नुअघि हमालले चर्चित भारतीय आध्यात्मिक चिन्तक आनन्द शिलासँग भिडियो अन्तर्वार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया