जीर्ण बन्यो बुलबुले उद्यान !

‘संरक्षणको जिम्मेवारी पाएकाहरुले उद्यानभित्रको रेखदेखमा खासै ध्यान नदिँदा बनेका संरचनाहरु फोहोर र टुटफुट्को अवस्थामा छन्’

सुर्खेत । सुर्खेत भन्ने वित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलेभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भित्रको सौन्दर्यतालाई गिज्याइरहेको छ । बाहिरबाट आउने जो–कोही एक पटक बुलबुले घुमेर जान्छन् । तर, उद्यानभित्र गइसकेपछि उद्यानभित्रको जीर्णता र तालमाथिको घाँसलाई हेर्दा पर्यटकहरु आश्चर्यमा पर्दछन् । त्यसै मध्येका एक हुन, कैलालीको लम्किका कमल शाही । कुनैबेला बुलबुले तालको बारेमा रेडियोमा गीत सुनेको उनी कहिले त्यहाँ जाम्ला भन्ने सोचिरहन्थे ।

आइतबार उनलाई घुम्न आउने अवसर मिल्यो । तर, उद्यानभित्र छिर्दा अचम्ममा परे, उनी । ‘बुलबुले त निकै सुन्दर छ भन्थे यो त ताल हो कि बेताल हो म अचम्ममा परेँ,’उनले भने, ‘सोचेको भन्दा निकै भिन्न रहेछ, भित्रको कुनैपनि संरचना हेर्न लायक देखिएन ।’ उनले भनेजस्तै बुलबुले उद्यानभित्रको पर्यटकीय सौन्दर्यता हराउँदै गएको छ । दिनप्रतिदिन बुलबुले उद्यान कुरुप बन्दै गइरहेको छ । उनी मात्र होइन् बुलबुले घुम्नका लागि आउने हरेक पर्यटकहरु बुलबुलेको अवस्था देख्दा निराश हुन्छन् । आइतबार नै बुलबुलेमा भेटिएकी कमला बलामी भन्छिन्, ‘केही बर्षअघि यस्तो थिएन, यहाँ यस्तो संरचना नबनेपनि गहिरो ताल थियो (अहिले घाँस भरिएको), अहिले त घाँसै घाँस रहेछ । अचम्म लाग्यो ।’

उसोत बुलबुले तालका विषयमा केही भ्रम पनि छन् । केही बर्षअघि प्रदेश सरकारले तलतिर संरचना खडा गरेको (अहिले घाँस भरीएको ताल) संरचनालाई नै बुलबुलेका रुपमा लिने गरेका छन् । तर, मुख्य मुहान माथिको बुलबुल गरेर जमिनबाट उम्रिएको पानी भएको स्थान हो । उक्त स्थानमा नुवाई–ध्वाई गर्ने धाराहरु छन् । धाराहरु वरपर निकै फोहोर जमिरहेको हुन्छ । बाहिरबाट आउने पर्यटकहरु ओहोर–दोहोर गर्दा त्यहाँको फोहोर अवस्था देख्दा नाक खुम्च्याउने गर्छन । त्यही पानी बगेर तलतिर जम्मा गरिएको स्थानलाई ताल बनाइएको छ । अर्को त्यहाँभित्र बनाइएका पर्यटकीय संरचनाहरुको अवस्था पनि बेहाल छ । पछिल्लो समय बुलबुले उद्यान क्षेत्रलाई पिक्निक खाने स्थलका रुपमा लिइन्छ भने कतिपय त्यहाँभित्र फोटो खिचाउनका लागि मात्रै जान्छन् । उद्यानभित्र केही फोटो ग्राफरहरु छन्, उनीहरुले राम्रो फोटो खिचिदिने भएकाले कतिपय आन्तरिक पर्यटकहरु आउँछन् । बुलबुले तालभित्र हरेक बर्ष ‘कर्णाली उत्सव’ कार्यक्रम गरिन्छ।

त्यसको कोडिनेटर मध्येका एक प्रकाश लामिछाने सामाजिक सञ्चालमा लेख्छन्–‘एउटा कामको सिलसिलामा बुलबुले उद्यानमा पुगियो, लगभग हजार भन्दा धेरै मानिसहरू थिए होला, नुहाउनेहरुको पनि उस्तै भिड थियो । अहिले पार्क पुर्ण रुपमा टिकटिङ सिस्टम सहितको छ र गेटमै टिकट काटेर पार्क छिर्नुपर्छ । तर, पार्कको हालत पहिलेको भन्दा झनझन् विरक्त लाग्दो छ । वीरेन्द्रनगर बजार र बस्ती बाक्लो भएको स्थान छेउको यो नै एकमात्र ठुलो पार्क र हरियाली सहितको खुल्ला स्थान हो । तर स–शुल्क पार्कको हालत हे¥यो भने उल्टै पैसा दिन्छु गइदेउ न भन्नुपर्ने खालको छ । सुर्खेत आउने बाहिरका साथीहरुले हामी सुर्खेती भनेर चिन्ने बित्तिकै सबैभन्दा मजाक उडाउने विम्ब बनेको छ, बुलबुले । सुधार कहिले होला बरु मेलम्ची छिटो आयो होला काठमाडौंमा तर, बुलबुले सुधारको गुरुयोजना पुरा हुन सकेन । हाम्रा संरक्षणकर्ताहरु बरु यसो इन्टर्नशिप गर्न ३ महिनाजति टिकापुर पार्कमा गएर बसे हुन्थ्यो कि !’ उद्यानभित्रका छापे घर, चौताराहरुको अवस्था निकै दयनिय छ । हरियाली बगैंचाहरु पनि छैनन् ।

संरचना जस्तो भएपनि दैनिक ३००–५०० सम्मले अवलोकन गर्ने गरेको छन् । विदाको दिन त १०००–१५०० सम्मले अवलोकन गर्ने गरेको बुलबुले उद्यानका कर्मचारीहरु बताउँछन् । अहिले मुल गेटमै टिकट सिस्टमको व्यवस्था गरिएको छ । २० रुपैयाँदेखि १५०० सम्मको टिकेट व्यवस्था गरिएको छ । तर, उद्यानभित्रको अवस्था कुरुप छ ।’ प्रदेश सरकारले तालको क्षेत्र विस्तारका लागि ०७५/७६ मा एक करोड ९६ लाख बजेट विनियोजन गरेको थियो । त्यसपछि पनि बजेट विनियोजन भइरह्यो । नगर विकास समितिको सहकार्यमा तालको क्षेत्र विस्तार र घेरबारका काम भएका छन् । तर, ताल वरिपरी बनेका संरचनाहरुपनि टुट्फुटको अवस्थामा छन् भने खम्बामाथिको लाइटिङ तोडफोटको अवस्थामा छन् । संरक्षणको जिम्मेवारी पाएकाहरुले तालभित्रको रेखदेखमा खासै ध्यान नदिँदा बनेका संरचनाहरु फोहोर र टुटफुट्को अवस्था छन् । नगर विकास समितिका लेखा सहायक खड्ग राना तालभित्रको झार हटाउने तयारी भइरहेको बताउँछन् ।

अबको एक महिनाभित्र झार हटाइने र त्यसका लागि दुई लाख बजेटको समेत व्यवस्थापन गरिएको उनको भनाइ छ । ‘त्यो सँगै बाँकी छापे घर, फोहोरा सञ्चालन लगायत भएका संरचनाहरुको स्तोरन्नतीको विषयमा स्टमेट गरिने छ,’ उनले भने । स्वयम् उनी पनि बुलबुलेप्रति मान्छेको आकर्षण अझै रहेको तर, आइसकेपछि पुरै निराश बनेर फर्किनुपर्ने अवस्था रहेको बताउँछन् । उसोत् उद्यानको संरक्षणका लागि भनेर ११ जना कर्मचारी खटाइएको छ । उनीहरुको काम सरसफाई गर्ने, संरचनाको संरक्षण गर्ने, टिकट काट्ने हो तर, उनीहरुले खासै ध्यान दिइरहेका छैनन ।

बुलबुले उद्यान व्यवस्थापन समितिका संयोजक नवराज गुरुङ उद्यानलाई आकर्षक बनाउन पहल भइरहेको बताउँछन् । तर, यसअघि बनाइएको स्टमेट जम्मा ९० हजारको भएकाले त्यो स्टमेटले कुनै काम हुन नसक्ने उनको धारणा छ । ‘९० हजारले कसले के बनाइदिन्छ, यो सरकारी प्रक्रिया निकै गाह्रो छ हजुर,’ उनी भन्छन् । नगर विकास समितिका अध्यक्ष समेत रहेकी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल विस्तार भएको ताललाई सफा गरेर बोटिङ सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । ‘घाँम भएको ताल बुलबुले ताल होइन्, माथिको हो तर, पानी जाने ठाउँलाई ताल विस्तार गरिएको हो,’ उनी भन्छिन्,‘संरचनाहरुको स्तोरन्नतिका लागि पनि सोचिरहेका छौँ । तालबारेमा स्टडी भइरहेको छ ।’

– वीरेन्द्रनगरबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया