विपद् व्यवस्थापन तर्फ सुधारात्मक काम भएको मन्त्री जिसीको दाबी

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन तर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । आफ्नो एक बर्षको प्रगति विवरण आज सार्बजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।


मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले एक बर्षको अवधीमा प्रदेश विपद गोदाम घर निर्माण गरी राहत, उद्धार सामग्री भण्डारण शुरु गरिएको जानकारी दिए । स्थानीय तह, सुरक्षा नीकाय, विकास साझेदारहरुसँगको समन्वयमा भुकम्प पिडित नागरिकलाई तत्काल राहात वितर तथा उद्धार गरिएको भन्दै मन्त्री जिसीले प्रभावित क्षेत्रको समस्या पहिचान तत्काल काम अगाडी बढाइएको बताए ।

मन्त्रालयले एक बर्षको अवधीमा आपतकालिन कार्य संचालन केन्द्रको लागि सामग्री खरिद गरी जिल्ला आपतकालिन कार्य संचालन केन्द्रलाई हस्तान्तरण गरिएको र अन्य जिल्लामा हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्री जिसीले जानकारी दिए । यसैबिच, प्रदेश विपद् व्यवस्थापन कोषमा ४ करोड २३ लाख ७६ हजार ८ सय २० रुपैयाँ जम्मा भएको छ । भने प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा ५ करोड रकम पठाइएको जनाइएको छ ।

जस अन्तरगत सुर्खेतमा ५० लाख, दैलेखमा ४० लाख ५० हजार, जाजरकोटमा ७० लाख, सल्यानमा ५१ लाख रकम पठाइएको मन्त्री जिसीले बताए । यस्तै, रुकुम पश्चिममा ५४ लाख, जुम्लामा ५० लाख, हुम्लामा ५१ लाख ५० लाख, कालिकोटमा ५० लाख, डोल्पामा ३० लाख र मगुमा ५३ लाख रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको मन्त्री जिसीले जानकारी दिए ।

मन्त्रालयले शान्ति सुरक्षातर्फ पनि थुप्रै काम भएको भन्दै मन्त्री जिसीले ६६ वटा पालिका मार्फत ८ करोड ८२ लाख ८८ हजार द्वन्द्व पीडित घाइते अपाङ्गता तथा सहिद स्मृती भत्ता उपलब्ध गराइएको मन्त्री जिसीले जानकारी दिए । भत्ता पाउनेमा २०८३ जना सहिद परिवारका व्यक्ती र एक हजार ४ सय २९ जना घाइते परिवारका व्यक्ती रहेको प्रदेश सरकारले जनाएको छ ।

मन्त्रालयले विभिन्न क्षेत्रमा सन्तोषजनक प्रगती हासिल गरेको जनाएको छ । मन्त्रालयको यो बर्षको बजेट कार्यान्वयन भने सुस्त देखिएको छ । चालु पुँजीगततर्फ जम्मा वजेट ३४ करोड ४७ लाख २१ हजार वजेटमध्य जम्मा २२.८६ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगत खर्च भने ३२.२९ प्रतिशत खर्च भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया