राष्ट्रियसभा निर्वाचन: कोशी प्रदेशमा माओवादी तर्फको असन्तुष्टि

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको महिला कोटामा आफ्नो पार्टीकी उम्मेद्वार चम्पादेवी कार्की पराजित भएपछि माओवादीभित्र समिक्षा सुरु भएको छ । हिजो (बिहीबार) भएको निर्वाचनमा कोशीमा महिला कोटामा एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कार्कीलाई सत्ता गठबन्धनको साथ थियो । तर, निर्वाचनमा कांग्रेसबाट फ्लोर क्रस भएपछि माओवादीकी कार्की पराजित भएकी हुन् । कांग्रेसबाट कोशीमा माओवादीलाई भएको धोका यो पहिलो भने होईन । यसअघि पनि कोशीमा कांग्रेस खासगरी शेखर कोइराला समूहले माओवादीलाई धोका दिइसकेको छ ।

कोशीको निर्वाचनमा धोका भएको भन्दै आज (शुक्रबार) विहानै प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरु भेला भएका छन् । अधिकांश नेताहरुले कांग्रेसले धोकाको राजनीति गरेको भन्दै अब समिक्षा गर्नुपर्ने बेला आएको आवाज उठाएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका उम्मेद्वार कृष्ण सिटौला विजयी हुँदा आफ्नो उम्मेद्वार हारेकामा माओवादी नेताहरु रुष्ट छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सिटौलाको भूमिकाबाट सन्तुष्ट हुन नसकेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया