वीरेन्द्रनगरका प्रमुख सडकहरूमा ठेकेदारको लापरबाही,यात्रु र स्थानीय आजिद

सुर्खेत । यदि ठेकेदारले तोकिएको समयमा काम गरेको भए मंगलगढी–कांक्रेविहार जोड्ने सडक यतिबेलासम्म चिटिक्क भइसक्थ्यो । तर, ठेकेदारका लापरबाहीका कारण अहिलेसम्म पनि उक्त सडकले पुर्णता पाउन सकिरहेको छैन । प्रशिद्ध कांक्रेविहार आउ–जाउ गर्ने पर्यटकहरु उक्त सडकको धुलो–धुँवाबाट आजिद छन् । मंगलगढी चोकबाट दक्षिणतर्फको सडकमा दैनिक हजारौँको संख्यामा सवारी साधन ओहोरदोहोर गर्छ । यति व्यस्त सडकको अवस्था भने दर्दनाक छ । घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुन थालेको दुई बर्षौँ भइसक्यो । शुक्रवार काठमाडौँबाट कांक्रेविहार घुम्न आएका लोकेन्द्र भट्टले भने, ‘मुख्य बजार, त्यसमैमा प्रमुख पर्यटकीय स्थल जोड्ने सडकको यस्तो अवस्था हुनु राम्रो होइन् । राज्य नै निकम्मा भएर हो कि ठेकेदार ?’

मंगलगढी–लाटिकोइली जोड्ने सडक। 

ठेकेदारका कारण स्थानीयलाई पनि सास्ती भइरहेको छ । सडकमा कुनै सवारी साधन गुड्यो कि धुलोको मुस्लो आगनसम्मै पुग्छ । स्थानीय दलबहादुर खत्री भन्छन्, ‘दुई वर्ष भन्दा बढी भइसक्यो हामीले धुलो खान थालेको । यसबाट मुक्ति कहिले पाइने हो ?’ ४ मंसिर ०७८ मा यो सडक निर्माणको जिम्मा अमर सिस्ने नेपाल मेघा जेभी नेपालगन्जले पाएको थियो । ०८० असारमा काम सम्पन्न गरिसक्ने लक्ष्यसहित कम्पनीले कामको जिम्मेवारी पाएको थियो । तर त्यो अवधीसम्म आधा काम पनि हुन सकेन । २४ सय मिटर सडक कालोपत्रे गर्ने गरी १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँ लागत रहेको थियो । अहिलेसम्म ४३ प्रतिशत मात्रै भौतिक प्रगति भएको पुर्वाधार विकास निर्देशनालयले सुर्खेतले जनाएको छ । यो सडकका कारण प्रदेश सरकारले निकै आलोचना खेप्नु परेको छ । तोकिएको सिमा सकिएपनि प्रदेश सरकारले ०८० फागुनसम्म म्याद थप गरेको छ । तर, अहिले काम पुर्ण रुपमा बन्द छ ।

उक्त सडकमा नाला निर्माण, फिलिङ्ग गर्ने, बीच भागमा इँटा राख्ने काम भइरहेका थिए । तर, अहिले उक्त काम पनि रोकिएको छ । पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डे निर्माण व्यवसायीबाट नै सुस्त गतिमा काम भएकाले गाली खानु परिरहेको बताउँछन् । ‘बेस विच्छ्याउने काम भइरहेको थियो, गाडी, घोडाहरु साइटमै छन् तर, काम भएको छैन,’ उनले भने, ‘हामीले काम ढिलो भएको भन्दै कानुनी उपचार खोज्छौँ भनेर भनिरहेका छौँ, उसले केही दिनमै सुरु गर्छु भनेको छ ।’ चाहिने सामाग्रीहरु ल्याई राखिएपनि काम पुर्ण रुपमा बन्द भएको उनले बताए ।

काम आधा नभएपनि पौने २ करोड रकम भने ठेकेदार कम्पनीले भुक्तानी लिइसकेको पूर्वाधार निर्देशनालयले जनाएको छ । यो सडक निर्माणका क्रममा बीचमा स्थानीयले समेत विरोध गर्ने गरेका थिए । अहिले सडक सम्बन्धि कुनैपनि विवाद नरहेको पाण्डेले बताए । यो विषयमा ठेकेदार प्रतिनिधि दीपेन्द्र शाहीलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यो सडक मात्र होइन् प्रदेश सरकारबाट निर्माणाधिन अवस्थामा एक दर्जन सडकहरुको काममा ढिलाई भएको छ । त्यो पनि प्रमुख सडकहरुको ।

ठेकेदार कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका मुख्यमन्त्री कार्यालयको अगाडिको सडक, प्रदेश सभा भन्दा पछाडिको लगायत १३ वटा सडकको म्याद सकिएपनि अहिलेसम्म काम पुरा हुन सकिरहेको छैन । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीले १७ भदौ, ०७८ मा १३ सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । २८ फागुन, ०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयसँग १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा सम्झौता भए पनि अहिलेसम्म काम सम्पन्न हुन सकिरहेका छैनन् ।

ठेकेदार कान्छारामले काम पुरा नगरेका सडकमा इत्राम स्कुल–ट्राफिक कार्यालयसम्मको सडक, घरेलुको कार्यालय–हटलाइन सडक, घरेलुदेखि ठाडो लाइनको सडक, प्रदेशसभाको पछाडि–टेलिकमको कार्यालय जोड्ने सडक छन् । यस्तै गुरुङचोक सडक, कालिञ्चोक–प्रदेश लोकसेवा हुँदै इत्राम जोड्ने सडक, खजुराको मोडेल कलेज अगाडिको सडक, महिला छात्रावास–दैलेख रोड र लालुपाते चोक सडकको जिम्मा पनि उनको कम्पनीले लिएको हो ।

यीमध्ये ६ वटा सडकमा नाला निर्माण र ग्राभेलको काम सकिएको छ । त्यसबाहेक कालोपत्रेको ‘क’ पनि सुरु नभएको निर्देशनालयले जनाएको छ । म्याद सकिएपनि अहिले म्याद थप गरेर काम गर्न सुरु भने गरेको पुर्वाधार विकास निर्देशनालयले बतायो । निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार मुख्यमन्त्री कार्यालय अगाडिको सडकको अहिले काम सुरु भएको छ । ‘काम सुरु भएको छ तर, ढिला भयो भन्ने हो,’उनले भने, ‘एक पटक म्याद सकिएपनि म्याद थप भएर काम भएका हुन् । सुरु भएपनि कछुवा गतिमा काम हुँदा समयमा काम सम्पन्न हुने अवस्था छैन ।’

तपाईको प्रतिक्रिया