सुर्खेत उपत्यका नगर विकास समितिले दियो संरचना हटाउन अन्तिम चेतावनी

सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गामा पहुँचको भरमा बनाइएका संरचना हटाउन अन्तिम पटक चेतावनीसहितको सुचना निकालेको छ । बुधबार सुचना जारी गर्दै समितिले अबको ३५ दिनभित्र संरचनाहरु हटाउन अल्टिमेटम दिएको छ ।

सुचनामा भनिएको छ,‘३५ दिन भित्र सम्पूर्ण संरचना भत्काई जग्गा खाली गर्न गराउन हुन यो सार्वजनीक सूचना प्रकाशन गरिएको छ । तोकिएको समयावधि भित्र पनि संरचना नभत्काई अटेर गरि वसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णयानुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थावाट व्यहोर्ने गरि संरचना भत्काई जग्गा खाली गराउन समिति वाध्य हुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

नगर विकास समितिको पुस १८ गते बसेको बैठकको निर्णयानुसार वीरेन्द्रनगर नगरपालिका– ६, गोदामक्षेत्र, सालट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तर तर्फ घण्टाघरदेखी दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखी पश्चिमतर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउने निर्णय गरेको थियो । सोही अनुसार नगर विकास समितिले संरचना हटाउन अल्टिमेटम दिएको हो ।

नगर विकास समितिका अध्यक्ष समेत रहेकी वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले मेयर भएपछि सार्वजनिक सम्पत्तिको खोजी गर्ने बताएकी थिइन् । सोही अनुसार सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरपालिका लागिरहेको छ । नगरपालिकाले निकालेको सुचनामा तोकिएको क्षेत्रमा ठुला व्यापारीका कार्यालय समेत रहेका छन्। यसअघि सम्झौता अनुसारको समयावधी सकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दशैँ भन्दा अगाडि नै हटाउन खोजीरहेको थियो । तर, दशैँतिहारमा व्यवासयिहरुलाई समस्या होला भनेर हटाएको थिएन् । अहिले ती संरचना हटाई पार्किङ, पार्क लगायतका संरचना बनाइने नगरपालिकाको योजना छ । नगरप्रमुख ढकाल भन्छिन्, ‘हामीले अलि पहिलानै हटाउन खोजेका थियौँ, उद्योग वाणिज्य संघले दशैँ, तिहारमा सामानहरु बेच्न दिनु त्यसपछि हामी आफैं सहयोग गर्छौँ भनेर प्रतिबद्धता जाहेर गर्नुभएको छ ।’

तपाईको प्रतिक्रिया