कुशल इन्जिनियर रामशरण – राजसंस्था विरुद्ध बोल्दा २७ दिन जेलमा बस्नुपरेको थियो

सुर्खेत । कुनै बेला अखिलको विद्यार्थी राजनीतिमा सक्रिय भई राजसंस्था विरुद्ध नारा लगाउँदा २७ दिन जेल जीवन बिताएका थिए, रामशरण आचार्यले । ०४६ सालतिरको कुरा हो, राजा वीरेन्द्रको क्षेत्रिय भ्रमण थियो, पोखरामा । रामशरण र उनका साथिहरु राजसंस्था विरुद्ध नारा लगाउने, विरोध गर्ने गर्थे । त्यही बेला उनीहरु पक्राउ परे । २७ दिनपछि उनी पढ्ने इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको जिम्मा लगाई छाडियो । त्यसबेला उनीहरुका राजनीति गुरु थिए, वाचस्पति देवकोटा । वाचस्पतिले त्यो बेला नै द्धन्द्धात्मक भौतिकवाद पढाएका थिए रे, रामशरण लगायतका विद्यार्थी नेताहरुलाई । विद्यार्थी राजनीतिमा सक्रिय भई लागेका तीनै रामशरण इन्जिनियर भई देशका विभिन्न भु–भाग चहारेर सेवा गरे । अहिले उनी भौतिक पुर्वाधार विकास निर्देशनालय सुर्खेतको निमित्त निर्देशक छन् ।

०४९ सालमा ओभरसियर भई जिल्ला विकास समिति गोरखाबाट सरकारी सेवा सुरु गरेका रामशरण कहिले सुदुरको दार्चुला, विकट कर्णालीको मुगु पुगे त कहिले शङ्खुवासभादेखि जनयुद्धको थलो रोल्पामा पुगेर कुशल इन्जिनियर भई विकास निर्माणको जग हाले । यात्राका क्रममा उनले गरेको संघर्ष कम प्रेरणादायी छैन । ०३० सालमा गोरखाको पालुङ्टार गाउँपालिका–२, पोखराबेसीमा जन्मिएका रामशरण सानैदेखि पढाईमा अब्बल थिए । किसान परिवारमा जन्मिएका उनको सानैदेखिको लक्ष्य नै इन्जिनियर बन्ने थियो । रुचीको विषय पनि यही थियो । लगनशिल भई निरन्तर संघर्ष गरिरहे, त्यसैमा । घर नजिक स्कुल थिएन । प्राथमिक तहको पढाई गर्न पनि आधा घण्टाको बाटो हिड्नुपर्ने, सारदा प्रावि । स्याउँलाले बारेको विद्यालयमा पढेको कुरा हिजो जस्तै लाग्छ, उनलाई । त्यो पनि सबैलाई पुग्दैनथ्यो । कोही स्याउँलाले बारेको ठाउँमा बस्थे, कोही वरको फेदमा । प्राथमिक तहको पढाई सकेपछि त्यो भन्दा माथि उनी अमरज्योति जनता माध्यामिक विद्यालयमा भर्ना भए, जुन विद्यालयमा बाबुराम भट्टराई पनि पढेका थिए । उक्त स्कुल रामशरणको घरबाट एक घण्टाको दुरीमा थियो ।

त्यही विद्यालयबाट उनले प्रथम श्रेणीमा एसएसली पास गरे । उच्च शिक्षाका लागि पढ्न उनलाई आर्थिक अभाव हुने भयो । उनी त्यो बेलाको क्षण सम्झन्छन्, ‘किसानको छोरो, आर्थिक अवस्था पनि कमजोर भएकाले घरबाट खर्च पनि जुट्न गाह्रो । मैले सोचेँ, अब पढाउँदै पढ्नुपर्छ, त्यो बेला एसएलसी भनेको निकै ठुलो मानिन्थ्यो ।’ अनि रामशरणले ट्युसन पढाउन थाले भने लमजुङ जिल्लाको शारदा निमाविमा पढाउन पनि सुरु गरे । खर्च व्यवस्थापनका लागि ट्युउसनदेखि विद्यालयसम्म पढाए । पछि इन्जिनियरिङ्ग पढ्नका लागि इन्जिनियररिङ्ग संस्थान अन्तर्गतको पुलचोक क्याम्पसमा नाम निस्कियो । उनी त्यही अन्तर्गत पर्ने, होस्टेलको पनि व्यवस्थापन भएकाले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा ०४५ मा भर्ना भए । गोरखाबाट नजिक पर्ने भएकाले आफु त्यहाँ गएको उनी बताउँछन् । डिप्लोमाको अध्ययन त्यहीँबाट सुरु भयो, उनको । तीन बर्षे पढाई त्यहाँ सके । उनी त्यो स्मरण गर्छन, ‘त्यहाँ पढ्दा कहिल्यै ‘फि’ तिर्नुपरेन, म जेहेन्दार विद्यार्थीका रुपमा स्कलरसिपमै पढें । हामी विद्यार्थीले मेस पनि चलाउथ्यौँ, निकै दुख गरी, मेस किमिटीमा हुनेले पैसा तिर्न नपर्ने । यसरी हाम्रो खर्च व्यवस्थापन हुन्थ्यो । उल्टो पैसा जोगिनथ्यो ।’ त्यहाँको पढाई सक्ने वित्तिकै उनलाई जिल्ला विकास समिति गोरखाले बोलायो ।

०४९ सालको कुरा हो, रिजल्ट आउनै बाँकी नै थियो । त्यहाँ स्थानीय विकास अधिकारी थिए, पुर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ । उनी सम्झन्छन्, ‘म गएको दिनमै उहाँले मलाई नियुक्ति दिई काममा खटाउनुभयो ।’ अब रामशरणको जागिरे जीवनको सुरुवात भयो, जो उनको लक्ष्य पनि थियो । उनी शब–ओभरसियर भई काम सुरु गरे । त्यो उक्त पद पनि निकै ठुलो मानिन्थ्यो । एक बर्ष जिविसमा काम गरेपछि त्यसपछि दुर्गम क्षेत्र विकास समितितर्फको थाईमा नाम निस्कियो, उनको । ओभरसियर भई उनी सुदुरपश्चिमको दार्चुला पुगे । दार्चुला पुग्न कम कठिन थिएन, त्यो बेला । भारतको पिथौरागढ हुँदै हुँदै त्यहाँ पुगेको स्मरण गर्छन, रामशरण । कर्णालीदेखि पश्चिमतिर पुलहरु पनि थिएनन् रे । कर्णालीमा त्यो बेला फेरी थियो । त्यही तरेर पहिलो पटक सुदुर नेपाल पुगेको उनी बताउँछन् । दार्चुलामा रहेर तीन बर्ष काम गरे, उनले । त्यसपछि पनि दुर्गम क्षेत्र विकासमा रहेर नेपालका थुप्रै दुर्गम जिल्लामा पुगेर काम गरेको अनुभव छ, उनीसँग । ०५९ सालमा उनी कर्णालीको मुगुमा आए । दार्चुलाबाट मुस्ताङ, रामेछाप, रोल्पा हुँदै मुगु पुगेका थिए, उनी । त्यो बेलाको कठिन संघर्ष सुनाउँदै उनले भने, ‘कम कठिन थिएन, त्यो बेला, सबैतिर बाटोघाटो पुगेको थिएन, पैदल यात्रा । कामहरु त्यस्तै हुने झोलुङ्गे पुल, खानेपानी, गोरेटोबाटोहरु बनाउने यस्तै यस्तै थिए । जनयुद्धको समय पुरै दुर्गममै बसेर बिताएँ । काम गर्न निकै गाह्रो ।

युद्धको समयमा पनि सबै भुगोलमा पुगेर काम गरेको उनले बताए । जीवनमा भुल्ने नसकिने क्षण बनेका छन्, त्यो बेलाको संघर्ष । दार्चुलाको एउटा घटना सुनाए उनले—‘अहिले त दार्चुला दुर्गम छ, त्यो बेलाको अवस्था कस्तो थियो होला, त्यहाँ हुँदा म एक पटक मरेरै बाँचेको छु । हामी महाकाली तर्नुपर्ने, यता दार्चुलातिर बाटो थिएन, पारी पट्टि (भारत)बाटो थियो । ग्याभिनको तार लगाई तर्नुपर्ने । जहाँ तार थियो, त्यहाँ जान बाटै थिएन । यति कठिन यात्रा थियो कि भिरमा पाइला अघि बढाउन पनि नमिल्ने पछि बढाउन पनि नमिल्ने । आँखा चिम्लिएर मरे पनि मरिन्छ भनेर अगाडि बढीयो । कसरी पार गरियो थाहै भएन । त्यत्ति हुँदा पनि क्रस गरियो ।’रामशरण सानैदेखि हक्की स्वभावको थिएँ, चाकडी चाप्लुसी नगर्ने । काम मात्र गर्ने मान्छेलाई कहाँ सजिलो थियो र ! उनी सम्झन्छन्, ‘म काठमाडौँ जान चाहन्थें तर, मेरो सुनुवाई भएन । पछि दुर्गमतिरै लखटिँदा लखिटिँदै मुगु पुगेको थिएँ । मेरो जिल्ला गोरखामा पनि त्यो कार्यक्रम थियो तर हामीलाई दिइएन ।

आफु पछाडी परेको, अलि हेपिएको फिल भएपछि मेहनत गरेर लोक सेवा आयोग पढ्न थालेको उनी बताउँछन् । ०६० सालमै हो, चारवटा परीक्षा दिएका उनले चारवटैमा नाम निकाले । उनी इन्जिनियर भई आफ्नै जिल्लामा पुगे । गोरखामा तीन बर्ष काम गरे अनि त्यसपछि ललितपुर गए । त्यहाँ अध्ययन पनि गर्न सजिलो होला भनेर गएका थिए, उनी । उनले शङ्खुवासभा, रुकुममा बसेर पनि काम गरे । भूकम्प पछिको पुननिर्माणमा गोरखामै बसेर काम गरेका थिए, उनले । ‘मेरो जीवनमा सन्तोषजनक रुपमा आफु प्रस्तुत हुन सकेको र सेवा प्रवाहका हिसाबले पनि आफुलाई सन्तुष्टि प्राप्त भएको भूकम्पपछिको पुननिर्माणमै हो,’ उनी भन्छन्, ‘एक नम्बरमा रहेर काम गर्दा सम्मान पनि पाइएको थियो ।’ तर दुर्गममा काम गर्दा त कहिलेकाहीँ यो जागिर नखाउँकि झैँ पनि लाग्थ्यो रे उनलाई । सुविधा कम हुने, घरपरिवारबाट टाढा रहनुपर्ने । ‘मैले जागिर सुरु गर्दा मोबाइल त छँदै थिएन, टेलिफोनको पनि सहज सुविधा थिएन,’ उनी भन्छन्, ‘दुरसञ्चारमा पुगेर लाइन बसेर फोन गर्नुपथ्र्यो । जीवनमा धेरै ठुलो संघर्ष गरियो हजुर…!’ गोरखापछि ०७४ तिर शङ्खुवासभा गएका उनी त्यहाँ तीन वटा आयोजनाको कार्यालय प्रमुख भई काम गरेँ । त्यहाँबाट रुकुम आए, फेरी गोरखा गई ०७८ सालको कार्तिकमा कर्णालीको भौतिक तथा सहरी विकास मन्त्रालयमा आएका थिए । ०७८ मंसिरदेखि उनी पुर्वाधार विकास निर्देशनालयमा कार्यरत छन् ।

रामशरण दुई भाई र एक बहिनीका दाजु हुन् । उनका भाई राजनीतिमा सक्रिय छन् । उनको जागिरे जीवनमा आफ्नो श्रीमतिले निर्वाह गरेको भूमिका उनी विर्सन सक्दैनन् । जागिर सुरुवात भएसँगै ०५३ सालमै विहे गरेका थिए लक्ष्मी अर्यालसँग । लक्ष्मी पहिला पढाउँथिन । ०५६ सालमा बच्चा जन्मिएपछि उनले छाडिन । अहिलेका उनका दुई छोराहरु छन् । लक्ष्मी उनीहरुकै रेखदेखमा व्यस्त भइन् ।

सामाजिक सेवामा अग्रसर हुने धोको

रामशरण सामाजिक सेवामा अग्रसर हुने सोचमा छन्, अब । दुई बर्षजति जागिर गर्ने र त्यसपछि सक्रिय राजनीतिमा लागि समाज रुपान्तरणमा लाग्ने आफ्नो चाहना रहेको सुनाए । ‘समाज रुपान्तरण र पुर्वाधार विकासमा लाग्छु,’ उनी भन्छन्, ‘अहिलेसम्म इन्जिनियरिङबाट बटुलेको अनुभवलाई सामाजिक सेवामा प्रयोग गर्छु ।

  • वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया