समग्र दैलेख जिल्लाको विकासको लागि १५ बुदेँ प्रतिबद्धता

दैलेख । दैलेख जिल्लाको समग्र विकासका लागि सम्पूर्ण राजनीतिक दलले १५ बुदेँ प्रतिबद्धता गरेका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा शुक्रबार सञ्चालन गरिएको विकास संवाद कार्यक्रममा विभिन्न १५ बुँदे प्रतिबद्धता गरिएको हो।

तीन तहका सरकार मार्फत जिल्लामा सञ्चालन गरिएका सम्पूर्ण विकास आयोजना विभिन्न कार्य सरकारी कार्यालयहरूले दैलेको विकासका लागि गरेका काम र सम्पन्न हुन बाँकी आयोजनाका विषयमा विकास संवाद कार्यक्रम आयोजना गरिएको थियो।

विकास संवादमा बोल्दै प्रतिनिधिसभा सदस्य अमरबहादुर थापाले सबैले आआफ्नो स्थानबाट प्रभावकारी काम गर्न सकेको खण्डमा दैलेखको समग्र विकासमा सहयोग पुग्ने बताए। १५ दिन लगाएर नेपालगञ्जबाट नुन ल्याउनुपर्थ्यो तर अहिले एकै दिनमा दैलेखबाट काठमाडौँ पुगेर काम सकेर साँझ फर्किन सकिन्छ यो विकास नभएको होइन तर जति हुनुपर्थ्यो त्यति हुन नसकेको उनको भनाई छ।

कर्णाली प्रदेश सभाका सदस्य एवं पर्यटन मन्त्री कृष्ण कुमार बिसीले जिल्लाका सबै पक्षलाई राखेर गरिएको विकास संवाद निकै प्रभावकारी भएको र यसको निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। प्रमुख जिल्ला अधिकारीले दैलेखको समग्र विकासमा देखिएका समस्याहरु समाधानका लागि पहल थाल्नुपर्ने विषयको उठान गर्नु आफैमा निकै महत्वपूर्ण भएको बताउँदै दैलेखको बिकासको लागि सबै मिलेर कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

प्रदेश सभा सदस्य घनश्याम भण्डारीले राम्रो गर्नेलाई सहयोग र नराम्रो गर्नेलाई विरोध गर्ने परिपाटी बसाउँदै आफ्नो पार्टीभित्र पनि नराम्रो काम भएको खण्डमा खुलेर विरोध गर्नुपर्ने सुझाव दिए। प्रदेश सभा सदस्य गोमता बिकले दैलेखक आफैंमा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण जिल्ला भएकोले यहाँको समग्र विकासमा देखिएका चुनौतीहरूका बारेमा एकपटक नभई बारम्बार छलफल र बहस गरेर टुंगोमा पुर्याउनुपर्ने सुझाव दिइन।

प्रतिनिधि सभाका पूर्व सदस्यहरू राजबहादुर बुढा, लक्ष्मी पोखरेल र रविन्द्रराज शर्माले विकास हुँदै नभएको भन्ने विषय उठाउन नहुने भन्दै हिजोभन्दा आजको तुलनामा विकासमा केही समस्या भएको भए पनि अहिलेको समग्र विकासमा प्रभावकारी कामको सुरुवात भएको तर भने जत्ति काम हुर्न नसकेको उनिहरुको भनाई थियो। कार्यक्रममा जिल्लाका सचेत नागरिक विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारहरू समेतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया