कसरी बन्यो उत्कृष्ट प्रदेश अस्पताल ?

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत भौतिक संरचनाको हिसाबले देशकै उत्कृष्ट बनेको छ । स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पतालमा स्तोरन्नती भएको यो अस्पतालले कुनै बेला राज्यबाट सौतेनी व्यवहार खेप्नुपरेको थियो । विभिन्न नामले रुपान्तरण गरेपनि अस्पतालमा प्रयाप्त लगानी थिएन, राज्यबाट । ५० बर्षअघि यो अस्पतालको जग हाल्ने काम भएको थियो, तत्कालीन स्वास्थ्य केन्द्रलाई ०२९ सालमा १५ शैयाको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । ०४९ सालमा २५ शैयामा विकास गरियो भने ०६२ फागुन ५ गते मध्यपश्चिम क्षेत्रीय अस्पतालका रुपमा रुपान्तरण गरिएको थियो ।

क्षेत्रीयमा रुपान्तरण भएपछि तत्कालीन स्वास्थ्य तालिम केन्द्रको भवनबाट अस्पतालले सेवा प्रवाह गरेको थियो । कमजोर भौतिक संरचना, न आवाश्यक जनशक्ति, स्वास्थ्य उपकरणको कमी उस्तै, लामो समय त नाम मात्रको क्षेत्रीय स्वास्थ्य अस्पताल रह्यो । ६० को दशकसम्म पनि यो अस्पतालले भौतिक रुपमा खासै रुपान्तरण पाउन सकिरहेको थिएन । अहिले प्रदेश अस्पतालले जे जति फड्को मारेको छ, त्यो विगत १० बर्षको समयमा हो । अहिले अस्पतालले ठुलो फड्को मात्र मारेको छैन, सुविधा सम्पन्न अस्पतालका रुपमा देशकै उत्कृष्ट बन्न सफल भएको छ ।

०७३ जेठमा नयाँ भवन सम्पन्न भयो र बहिरंग (ओपिडी) सेवा त्यहाँबाट सुरु भयो । त्यसपछि अस्पतालममा सेवाग्राहीको चाप पनि दिनदिनै बढ्न थाल्यो । त्यसैलाई मध्यनजर गर्दै २ वटा प्रिफेब भवन निर्माण गरी मेटरनिटी वार्ड र आइसीयु÷एनआइसीयु सञ्चालन गरिएको थियो । अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘तालिक केन्द्रमा रहेको पुरानो अस्पताल भवनमा मनोरम बगैँचा निर्माण गरियो, दुईवटा प्रिफेब भवनको बिचमा प्रसुती वार्डको अगाडि बिरामी कुरुवा प्रतिक्षालय बनाइयो ।’

उनका अनुसार ०७४ मा अस्पताललाई ३ सय शैयाको बनाउनका लागि नयाँ भवन निर्माणको सुरुवात गरिएको थियो । अहिले अस्पतालको सम्पुर्ण सेवा तीनवटा ब्लकमा रहेका तीन तले नयाँ भवनबाट चलिरहेको छ । ०७५ कार्तिक १३ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट प्रदेश अस्पतालमा रुपान्तरण भएको यो अस्पताल अहिले प्रदेश सरकार मातहतमा छ । त्यसपछि अस्पतालले अझ फराकिलो तरिकाले विकास गर्न सक्यो । सरकारले यो अस्पताललाई १ सय ५० शैयाको लागि दरबन्दी स्वीकृत गरेको छ तर, बिरामीको चापका कारण २ सय ९० शैया सञ्चालन भइरहेको छ । साथै ५ सय शैया बनाउनका लागि महत्वकांक्षि योजना समेत अघि बढीरहेको छ ।

अहिले सेवा सुविधामा समेत अब्बल यो अस्पतालको संरचना निकै सुन्दर हुनाका साथै उत्कृष्ट रहेको छ । विशेषगरी पछिल्लो दशकमा अस्पतालले भौतिक संरचनामा उल्लेख्य उपलब्धि प्राप्त गरेको डा. खड्का बताउँछन् । खड्का निर्देशक भएयता अस्पतालले गुणात्मक रुपमा परिवर्तन पाएको हो । अहिले कर्णालीका मात्र होइन छिमेकी प्रदेशका जनतालाई समेत भरपर्दो र विश्वसनीय स्वास्थ्य सुविधा प्रदान गर्दै आएको छ । खड्का विगत सम्झिन्छन्, ‘क्षेत्रीय अस्पतालको रुपमा स्तोरन्नती हुँदा जनशक्ति, भौतिक पुर्वाधार, औजार–उपकरण, सेवा प्रवाहको हिसाबले जिल्ला भन्दा माथि उठ्न सकेको थिएन । चिकित्सकहरु अस्पतालमा नआउने, आए पनि काज मिलाएर सुविधा सम्पन्न अस्पतालमा जाने प्रवृत्ति स्थापित भयो । यसले एक चिकित्सकको रुपमा मलाई निकै दुःखित बनाउँथ्यो । स्थानीयबासीसमेत भएकाले म आफुलाई तोकिएको समयमा ड्युटी गर्ने चिकित्सककर्मी मात्र होइन, अस्पताल सुधारको एक साधन हुनुपर्छ भन्ने ठान्थे ।’

डा. खड्काले ०७२ देखि निर्देशकको जिम्मेवारी नै पाए, त्यसपछि अस्पताल विकासपथमा लम्कियो । हरेक क्षेत्रको विकास लागि व्यक्ति एक साधन हो, विकास आफैँ हुँदैन, त्यसमा व्यक्तिको पनि भूमिका महत्वपुर्ण हुन्छ । ‘प्रदेश अस्पताल आजको अवस्थामा पुग्नुमा नेतृत्वको भूमिकामात्र होइन नेतृत्वलाई अस्पतालको आन्तरिक तथा बाह्य क्षेत्रबाट प्राप्त विश्वास महत्वपुर्ण रहेको छ,’डा. खड्का भन्छन्, ‘सबैको सहयोगले नै आज सुविधा सम्पन्न अस्पतालको रुपमा विकास भएको छ ।’

खड्काका अनुसार अस्पतालको चौतर्फी अभावग्रस्त अवस्थालाई अन्त्य गर्न सबैभन्दा महत्वपुर्ण कुरा आर्थिक पक्ष थियो । दीर्घकालिन योजना निर्माण, त्यसका लागि प्रयाप्त बजेटको व्यवस्था र योजनाको प्रभावकारी कार्यान्वयन गर्ने नीति तयार गरिएको थियो । राजनीतिक नेतृत्वसँग सहयोग माग्नेदेखि विस्तारै सरकारी मात्र नभई दातृ निकायबाट समेत सहयोग पाइएको खड्का बताउँछन् । अहिले अस्पतालमा अत्याधुनिक औजार तथा उपकरणहरु छन् । त्यो सबैको सहयोगले सम्भव भएको उनी बताउँछन् । अस्पतालमा आउने चिकित्सकलाई स्वागत गर्ने सस्कृतिको विकाससँगै काम गर्ने अनकुल वातावरण बन्यो, प्रदेश सरकार मात्र नभई संघीय सरकारसँग समेत समन्वय गरी चिकित्सक पठाउन आग्रह गरिएको कुरा पनि डा. खड्का सम्झनछन् ।

‘हामीले एमडी÷एमएस गरेका विशषज्ञ चिकित्सकहरु अस्पतालमा भित्र्यायौँ,’ खड्काले भने, ‘गन्ध आउने शौचालय र बेडरुमबाट हामी नयाँ अत्याधुनिक भवनमा त स¥यौँ तर, स्तरिय र उच्च तहको स्वास्थ्य सेवा प्रदान नगर्दासम्म अस्पतालप्रति जनताको विश्वास बढ्न सक्दैनथ्यो । पछिल्लो समय हामीले यसलाई ध्यान केन्द्रित ग¥यौँ, एमआरआई मेसिन खरिददेखि जटिल खालका रोगको उपचार सुरु ग¥यौँ ।

अहिले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपणको सेवा समेत विस्तार हुनाका साथै ‘हिप रिप्लेसमेन्ट’, न्युरो, स्पाइनल, मुटुरोग जस्ता जटिल खालका स्वास्थ्य सेवा पनि यहीबाट प्रदान हुने गरेका छन् । जसले कर्णालीका नागरिकलाई निकै सहजता प्रदान गरेको छ । खड्का प्रदेश अस्पताल जनताको अस्पताल हो भन्छन् । जनताको विश्वास नरहे अस्पतालको अस्तित्व नरहने उनको बुझाइ छ । अस्पतालप्रतिको विश्वासले नै होला, अहिले दैनिक सैयौँको संख्यामा बिरामीहरुले सेवा लिइरहेका छन्, अस्पतालबाट । आर्थिक बर्ष ०७४/०७५ मा ओपिडी र इमरर्जेन्सीमा गरी कुल ६७ हजार १३५ बिरामी अस्पताल पुगेका थिए । गत आर्थिक बर्ष ०७९/०८० को तथ्यांक हेर्दा यो संख्या २ लाख १३ हजार १४३ पुग्यो । अस्पतालका अनुसार अहिले दैनिक सरदर ६ सयको हाराहारीमा बिरामीले सेवा लिँदै आएको अस्पतालको रेकर्ड छ ।

अहिले अस्पतालमा चिकित्सकको पनि अभाव छैन । प्रदेश सरकारले एक जना अस्पताल निर्देशकसहित ७५ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये ५० जना कन्सल्ट्यान्ट चिकित्सक र २५ जना मेडिकल/डेन्टल अफिसर रहेका छन् । निर्देशक खड्काका अनुसार अहिले दरबन्दी भन्दा बढी चिकित्सकहरु रहेका छन् । गत बर्ष अस्पतालमा स्थायी दरबन्दी, करार तथा छात्रवृत्ति र अस्पताल विकास समितिबाट समेत गरी ५ सय १७ जा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिष्ठान बनाइने

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न चाहन्छन्, निर्देशक डा. खड्का । सोही अनुसार अहिले उक्त कामको थालनी समेत भइसकेको छ । प्रतिष्ठान बनेको खण्डमा अस्पतालको विकास र समृद्धिको दायरालाई थप फराकिलो बनाउन सकिने विश्वास खड्काको छ । यदि प्रतिष्ठान बनेको खण्डमा अस्पतालले सँधै भोग्ने गरेको जनशक्ति अभाव सँधैका लागि समाप्त भएर जाने उनले बताए । प्रतिष्ठानमा एमडी/एमएस चिकित्सक र स्नातक तह नर्सिङको अध्यापन हुने भएपछि विशिष्टकृत जनशक्तिको उपलब्धता स्वतः वृद्धि भएर जाने खड्काले बताए ।

तपाईको प्रतिक्रिया