सुर्खेत । डा. शक्ति प्रसाद सुवेदी अहिले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको निर्देशकका रुपमा कार्यरत छन् । तर, उनी आँखाका बिरामीहरुको उपचार सेवामा पनि निरन्तर लागिरहेका छन् । उनी प्रमुख कन्सल्टेन्ट नेत्र रोग विशेषज्ञ हुन् । प्रदेश अस्पतालमा आँखाको उपचार सेवा प्रारम्भ भएसँगै सुवेदीले शल्यक्रिया लगायतका जटिल आँखाका बिरामीहरुको उपचार गर्दै आएका छन् । तर, त्यहाँ भन्दा अघि पनि उनले हजारौँको गुमेको आँखाको दृष्टि फर्काएका छन् ।
०४३ सालमा वीरेन्द्रनगर नगरपालिका–८, खजुरामा जन्मिएका हुन्, शक्ति । जनमाविबाट एसएलसीसम्मको पढाई पुरा गरेका उनी उच्च शिक्षाका लागि काठमाडौँ गए । काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस गरे, एमडी चिकित्सा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरे । आँखाबाट नै एमडी गरेका डा. सुवेदी आफैमा पावरको चस्मा प्रयोग गर्छन । ‘जब म चस्माको प्रयोग गर्न थालेँ, त्यो फिल्डप्रति चासो बढ्दै गयो । मेरो चासो नै आँखा सेक्टरतिर भएकाले मैले आँखामै एमडी गरेको हो,’ उनले भने । उनले रेडक्रसकै छात्रवृत्तिमा एमडी गरेका थिए, त्यसपछि उनी पाँच बर्ष नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालमा काम गरे । आँखा अस्पतालमा हुँदा उनले थुप्रै आँखाका बिरामीको शल्यक्रिया गरे । कर्णलीका विकट गाउँबस्तीमा आँखा शिविर नै लगेर गए, शल्यक्रिया गरे । उनले यो अवधिमा ७ हजार बढी आँखाका बिरामीहरुको शल्यक्रिया गरेको बताए ।
काठमाडौँमा पनि २५० बढी शल्यक्रिया गरेका थिए, उनले । उनी शिविर लगेर विकट कर्णालीका गाउँ–गाउँ चहारेका छन् । कर्णालीका एक मात्र आँखा अस्पताल थियो, वीरेन्द्रनगरस्थित । उनी सम्झन्छन्, ‘एक पटक हुम्ला जाँदा कोल्टिबाट हिँडेर गयौँ, सामान खच्चरमा बोक्यौँ, लगातार १७ दिनसम्म ठाउँ–ठाउँमा शिविर गरेका थियौँ । ताँजाकोट, श्रीनगर र सोरु गरी तीन वटा ठाउँमा शिविर गरेका थियौँ, हामीले । यात्राका क्रममा मान्छेहरु साधारण आँखा स्वास्थ्यको पहुँचबाट निकै टाढा भएको पाइयो ।’
उनका अनुसार ४० बर्ष पुगेपछि नजिकको हेर्ने दृष्टि कमजोर हुन्छ । विकट गाउँ पुग्दाको एउटा स्मरण गर्दे उनले भने, ‘एक जना सिलाई पेशा गर्नुहुन्थ्यो, दृष्टि कमजोर भएका कारण उहाँले पेशा नै छाड्नु भएको रहेछ । हामीले साधारण चस्मा वितरण गर्दा उहाँ पुनः आफ्नो पेशामा फर्किनुभयो । हामी फर्कने बेला उहाँ काममा फर्किनुभएको पायौँ ।’ यो त एउटा उदारण मात्र हो, त्यस्ता कैयौँ घटनाहरु छन्, उनका स्मृतिमा ।
उनी भन्छन्, ‘हामीले कर्णालीमा एउटा सर्वेक्षण पनि गरेका थियौँ । त्यसमा पनि कर्णालीको आँखा स्वास्थ्यको अवस्था अरु प्रदेशको भन्दा अझ कमजोर रहेको छ । अरुमा भन्दा हाम्रो प्रदेशमा थाह नभएर र पहुँच नहुँदा मान्छेहरु आँखा उपचारको सेवा लिइरहेको देखिन्न ।’ अहिले रेडक्रम सोसाइटी आँखा अस्पताल छ, प्रदेश अस्पतालमा पनि उपचार भइरहेको छ । नेपालकै सरकारी अस्पताल, जहाँ आँखाको शल्यक्रिया सेवा छ, त्यो प्रदेश अस्पताल हो । प्रदेश अस्पतालमा उनीसहित चार जना आँखा विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् ।
उनको बुझाइमा सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । आँखा त उत्पादनसँग पनि जोडिन्छ, शिक्षा लगायत सबैसँग जोडिन्छ । त्यसैले सरकारी स्वास्थ्य संस्थाहरुबाट पनि आँखाको उपचार भए धेरै नागरिकहरुले सहजता पाउँछन् । यद्यपि राज्यले प्राथमिकता दिएको छैन । अहिले अलिअलि दिन थालेको छ । उनका अनुसार पहिला सरकारी अस्पतालमा आँखाको दरबन्दी थिएन । अब नयाँ ओएनएममा आँखाका दरबन्दीहरु सिर्जना भएका छन् भने राज्यले पनि लगानी बढाएको छ । आँखा स्वास्थ्य पनि विस्तारै मुलप्रवाहिकरणमा आएको छ । अझै यसलाई प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछन् ।
उनका अनुसार नेपालमा आँखा सेवा सरकारीमा थिएन । लोक सेवामा आँखाको ११ औँ तहको प्रमुख कन्सल्टेन्टको माग गरेको थियो, त्यसमा सुवेदीले पनि अप्लाई गरे । ‘मेरो नाम निस्कियो, त्यसपछि म सुर्खेत नै आएँ,’ उनले भने, ‘म यहाँ आएपछि प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको निर्देशकको रुपमा जिम्मेवारी दिइयो ।’ उनले ०७९ साउन दुई गते उनले उक्त केन्द्रको नेतृत्व सम्हालेका छन् । अहिले कर्णालीका १० वटै जिल्लामा सरकारले निःशुल्क हुनुपर्ने भन्ने औषधिहरु उपलब्ध गराउने काम भइरहेको छ । स्थानीय तहको पनि क्षमता वृद्धि गर्ने भनेर काम गरिरहेको उनले बताए । आवाश्यक पर्ने औषधि खरिद गर्नेदेखि वितरण गर्ने काम आपुर्ति केन्द्रले गर्छ ।
नेपालीरैबार । २०८० फाल्गुन ८, मंगलवार