सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा मञ्चन

काठमाडौं। नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक २५ औं भारत रंग महोत्सवमा मञ्चन भएको हो ।

भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गरेको महोत्सवमा यो नाटक नयाँ दिल्ली र उत्तराखण्डको रामनगर (नैनीताल)मा गरी दुई ठाउँमा मञ्चन भएको हो । दिल्लीको एलटिजी अडोटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडोटोरियममा फेब्रुअरी १९ मा मञ्चन भएको हो ।

भारत रंग महोत्सवमा यस वर्ष भारतीय नाटकबाहेक तीन मात्र विदेशी नाटक छनोट हुँदा करमन कलाको प्रस्तुति रहेको नेपाली नाटक ‘क्लेशाः’ छनोट भएको थियो । फेब्रुअरी १ देखि सुरु महोत्सव फेब्रुअरी २१ सम्म हुँदैछ ।

पाँच तत्वहरु अज्ञानता, अहंकार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेशमा नाटक आधारित छ ।

मञ्चनपछि ‘डाइरेक्टर मिट’ सत्रमा नाटकबारे अन्तरक्रिया भएको थियो । सो क्रममा निर्देशक कार्कीले रामायणका पात्रलाई फरक कोणबाट विश्लेषण र अवलोकन गर्ने प्रयास गरिएको बताइन् ।

उनले भनिन्, ‘रामायण मेरा लागि एक कथा हो, त्यसबाट प्रभावित भएर पात्रबीचको मानसिक तथा भौतिक द्वन्द्वको कथा भनेको हुँ । यो समाजको वर्गबीचको, पुरुष महिलाबीचको, एकै पात्रभित्रको अन्तरद्वन्द्वको पनि कथा हो ।’

नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्नील घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र सरस्वती अधिकारीको अभिनय थियो ।

फिल्म अभिनेत्री समेत रहेकी पन्तले यो नाटकबाट थिएटर डेब्यु गरेकी हुन् । नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल, रुजा राउत र केदार श्रेष्ठ छन् ।

यो नाटक २०७६ सालमा नियमित तीन साता र यस वर्ष भारत रंग महोत्सवमा पुग्नुअघि मण्डला थिएटरमा तीन विशेष मञ्चन भएको थियो ।

तपाईको प्रतिक्रिया