कर्णाली एक्सपो महोत्सवको उद्घाटन कार्यक्रममा कुन नेताले के भने ?

सुर्खेत । मंगलबारबाट सुरु भएको कर्णाली एक्सपो महोत्सवको उद्घाटन भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको सो महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले मंगलबार गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले सुर्खेत विमानस्थलबारे आफूमाथि लागेको आरोपको विषयमा प्रस्ट पारेका छन् । यसअघि खड्कालाई अहिलेको विमानस्थललाई कमजोर पार्न आफ्नो निर्वाचन क्षेत्र (सुर्खेत–१,) को रामघाटनमा नयाँ विमानस्थल सुरु गरेको आरोप लागेको थियो ।

साथै नयाँ विमानस्थलबारे वन मन्त्रालयले तयार पारेको डकुमेन्ट्रीमा नयाँ विमानस्थल सञ्चालनमा आए वर्तमान विमानस्थललाई जंगलका रूपमा विकास गर्न सकिने विषय उल्लेख भएपछि क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस सांसद हृदयराम थानी र एमाले नेता, प्रदेश सभा सदस्य यामलाल कँडेलले खड्कामाथि सत्ताको आडमा वीरेन्द्रनगरलाई कमजोर पार्ने रणनीति अपनाएको आरोप लगाउँदै आएका छन् ।

थानी र कँडेललाई जवाफ दिँदै खड्काले विमानस्थलको विकासमा को–कसले कति ग¥यो समीक्षा गर्दा हुने बताए । ‘महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा १ अर्ब बजेट विनियोजन गर्दा किन काम हुन सकेन ? कसले सहयोग नगरेको हो ?, थानी र कँडेललाई लक्षित गर्दै खड्काले भने । त्यो बेला विमानस्थल विस्तारमा सहयोग नगरेको आरोप यामलाल कँडेलमाथि नै लाग्दै आएको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समेत कँडेलले त्यो बेला सहयोग नगर्दा नै विस्तार कार्य रोकिएको बताउँदै आएका छन् । खड्काले वर्तमान विमानस्थलको विकासमा आफू अग्रसर नै रहेको कुरा बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका थिए । उनले शक्ति र पहुँचको भरमा प्रदेश राजधानीबाट सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुननसक्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेको बताएका छन् । उनले ‘कर्णाली पछि परेको होइन, पारिएको हो’ यो भास्य बदल्न जरुरी छ । यसका लागि सरकारी संयन्त्र लागिरहेको जानकारी दिए ।

मुख्यमन्त्री राजकुमार शर्माले एकल अधिकारमा पाएका व्यवस्था सेट कार्यान्वयन हुन नसकेको बताउदै यी संघले दिने र प्रदेशले माग्ने कुरा होइन संविधान कार्यान्वयन गर्ने कुरा भएकोले केन्द्र सरकारले समयमै ध्यान दिन आग्रह गरे । कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता यामलाल कँडेलले निजी क्षेत्रहरू उत्पादनमा अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा एक्सपोे सञ्चालन गर्नुको उदेश्यबारे सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंडेले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया