इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड क्षति

काठमाण्डौँ। नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।

पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिएको जानकारीअनुसार मंगलबार राति करिव १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको हो ।

कसौंधनले सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको खबर थाहा पाउनेवित्तिकै दमकल, प्रहरी र स्थानीय वासिन्दाले पुगेर केही बेरमै आगोमा नियन्त्रण पाए पनि पसलभित्रको सबै सामान जलेर खरानी भइसकेको बताए।

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरन्जन घिमिरेले आगलागीबाट ठुलै क्षति भए पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाउँदै सबै विवरण पाएपछि मात्र क्षति यकिन गर्न सकिने बताए ।

सर्ट सर्किट भएर नेपालगन्जमा हरेक महिनाजसो कुनै न कुनै पसलमा आगलागी हुँदैआएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया