भागेका थुनुवालाई समाउन खोज्दा लडेर प्रहरी जवानको मृत्यु

काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ।

कैलाली घर भएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए।

जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया