मुगुमा कार्यालय प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका–९ साबिक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसिसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२र०७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिँचाइ कुलो निर्माणमा प्रमुख पाण्डेले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणको १४ लाख १७ हजार ९३५ रुपियाँ बराबरको कार्य सम्पन्न नगरी गैरकानुनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको छ । पाण्डेलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

यसैगरी, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपियाँ भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।

कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्वितीय र तृतीय बिलबाट आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा जम्मा १२ लाख ३६ हजार ९०१ रुपियाँ बराबरको नभएको कामलाई पनि भएको भुट्टा बिल भरपाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । अयोगका प्रवक्ता घिमिरेले कठायतलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको जानकारी दिए ।

त्यस्तै, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका सबइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रोकायाले प्रथम रनिङ्ग बिलअनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा एक लाख ९१ हजार २०६ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । रोकियालाई भ्रष्टाचार ऐन बमोजिम सो रकम बिगो कायम गरी कैद र जरिवाना एवम् बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।

प्रवक्ता घिमिरेका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शाहीले तयार गरेको द्वितीय र तृतीय बिल अनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा १० लाख ४५ हजार ६९४ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । शाहीलाई सो रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।

साथै सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीले १४ लाख १७ हजार ९३५ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ । उहाँहरूले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुले गरेको सम्झौता र सो अनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्याङ्कन हुँदा यथार्थ कार्य मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप छ ।

दिपादेवी, पूर्ण र फुल्टउरालाई १४ लाख १७ हजार ९३५ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम कैद र जरिवानाको सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी दिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया