काठमाण्डौँ। बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्मा हुन् । कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा बाघले खाएको अवस्थामा शर्माको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताएका छन् ।
घटना बारे थप अनुसन्धान भइरहेको तथा मृतकका आफन्तसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । ढकेरी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएकाले सो क्षेत्रमा पाटेबाघ देखिने गरेको स्थानीयले बताएका छन् ।
नेपालीरैबार । २०८० चैत्र ४, आईतवार