हिउले बाटो अवरुद्ध हुदा लिमीका बालबालिका दादुरा खोपबाट वञ्चित

सुर्खेत। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् ।

हुम्ला जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन् । यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

“हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो”, उनले भने । लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताए । लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका खर्च बढी लाग्छ । बजेट धेरै नहुदा खोप कार्यक्रम सञ्चालन हुन सकेको छैन । हिउँले बाटो अवरुद्ध हुँदा खोप गाउँपालिकाको स्वास्थ्य शाखामै थन्किएको छ । अब वैशाखपछि बाटो खुलेपछि मात्र खोप अभियान सञ्चालन हुन्छ”, उनले भने । गत कात्तिक महिनायता त्यहाँका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन् ।

गाउँपालिकाका अन्य खोप केन्द्रमा भने दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । नाम्खाका अन्य गाउँमा भने यही चैत १ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप लगाउने कार्य जारी छ ।

तपाईको प्रतिक्रिया