वीरेन्द्रनगरमा क्रिकेट रंगशाला र मनोरञ्जन पार्क निर्माणका लागि मुख्यमन्त्रीद्धारा शिलान्यास

सुर्खेत। प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रस्तावित इन्डोर र आउटडोर क्रिकेट रंगशाला र मनोरञ्जन पार्क निर्माणका लागि कार्य प्रारम्भ गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माद्धारा बुधबार शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परियोजना मार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाडौंले निर्माण जिम्मा लिएको छ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो। यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ।

चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इन्डोर क्रिकेट हाल निर्माण हुने परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए। उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो। त्यसका लागि क्रिकेटका लागि कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहे पनि दुई ओटा खेलकुद मैदान आवश्यक हुने भन्दै यस क्षेत्रमा पनि क्रिकेट मैदान बनाउन लागिएको उनले बताएका छन्।

ृउक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले दशौं राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वको रूपमा विकास हुने अपेक्षा गरिएको जानकारी गराउँदै त्यसका लागि दत्तचित्त भएर लागिरहेको बताएका छन्।

पाँच ‘प’ नीति अनुसार अघि बढिरहेको बेला खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न अनुरोध गरे। खेलाडीलाई पुरस्कारका लागि चिन्ता नगर्न सुझाव दिँदै कर्णाली चिनाउन प्रतिस्पर्धा गर्न आग्रह गरे। खेलाडीहरुको खेल क्षेत्रमै भविष्य बनाउन सरकार लागिपरेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया