कर्णालीमा पैँतालिस हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप

सुर्खेत। हालसम्म कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा पाँच जिल्लाका करिब ४५ हजार नागरिकले फाइजर खोप ९बुस्टर डोज० लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालीकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानसमेत सम्पन्न भएको छ ।

खोप अभियान चैत २ र ३ गते सञ्चालन भएको थियो । खोप अभियान सम्पन्न भएसँगै आइतबार इपिक नेपालको सहयोगमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको कार्यक्रममार्फत खोप कभरेजको अवस्थाबारे जानकारी गराइएको हो । इपिक नेपालका प्राविधिक विशेषज्ञ प्रदीप श्रेष्ठका अनुसार खोप कम कभरेज भएका कर्णालीका पाँच जिल्लाका १६ वटा पालिकाका यसअघि खोप लगाउन छुटेका नागरिकले खोप सेवा लिएका हुन् ।

खोप अभियान सञ्चालनका लागि १६ वटा पालिकामा २७८ वटा खोप केन्द्र स्थापना गरिएका थिए । खोप अभियानका लागि ६० हजार बढी खोप प्राप्त भएका थिए । जसमध्ये करिब ४५ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको तथ्याङ्क रहेको छ । हालसम्मको तथ्याङ्क अनुसार करिब २० हजार जनाभन्दा बढी पुरुष र २४ हजारभन्दा बढी महिलाले खोप प्राप्त गरेका छन् । खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोजबाट छुटेका १२ वर्षमाथिको उमेर समूहका व्यक्ति खोपबाट लाभान्वित भएका छन् ।

प्राविधिक विशेषज्ञ प्रदीप श्रेष्ठका अनुसार वैशाख महिनामा पनि कर्णालीमा फेरि खोप अभियान सञ्चालन गरिने छ । वैशाखमा सञ्चालन हुने अभियान खोप कभरेज कम भएका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा केन्द्रित हुनेछ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार खोप कभरेज बढाउन कोभिड–१९ खोप लगाइएको हो । हाल खपत भएको खोप अनुसार आगामी दिनमा पनि खोप कभरेज कम भएका जिल्ला र पालिकामा थप अभियान सञ्चालन गर्नुपर्ने छ । खोप अभियान सञ्चालन पूर्वअभियानलाई प्रभावकारी बनाउन स्थानीय खोप समन्वय समिति र स्वास्थ्यकर्मीसँग छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया