देशका अधिकांश भूभागमा आज पनि वर्षा, हावा–हुरीको समेत सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको तुलनामा बिहीबार कम वर्षा हुनेछ । मौसमविद् सञ्जीव अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनका अनुसार बुधबारको तुलनामा बिहीबार कम वर्षा हुनेछ । मंगलबार रातिदेखि कोशी र मधेस प्रदेशमा वर्षा भएको छ । बागमतीमा भने बुधबार बिहानदेखि वर्षा हुन थालेको हो ।

काठमाडौँ उपत्यकामा बिहीबार बिहान पनि विभिन्न ठाउँमा सिमसिम वर्षा भएको छ । बिहीबार दिनभर नै मौसममा बदली हुनेछ । बुधबार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको थियो । मौसमविद् अधिकारीले शुक्रबारसम्म नै वर्षा हुने बताए । बुधबारको तुलनामा बिहीबार कम र बिहीबारको तुलनामा शुक्रबार कम वर्षा हुनेछ । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको उनले बताए ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ । बुधबार राति कर्णालीका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाडौँ उपत्यकामा बिहीबार थप जाडो महसुस गरिएको छ ।

तपाईको प्रतिक्रिया