निराशालाई आशामा बदल्न नयाँ समिकरण : महासचिव पोखरेल

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतामा छाएको राज्यप्रतिको निराशा आशामा बदल्न नयाँ गठबन्धन बनेको बताए । नेकपा एमाले सुर्खेतको नवौं अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन एमालेले भूमिका खेलेको बताएका छन् ।

उनले मुलुकलाई थप निराशाको बाटोमा जान नदिन एमालेले गठबन्धन भत्काउनुपर्छ भन्ने मान्यताका आधारमा अडान लिएको बताए । ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक हदसम्म सकारात्मक अनुभूति गर्नुभयो, एउटा त उहाँले सदैव देशभक्तिपूर्ण आन्दोलनमा होमिएको नेपालको वामपन्थी आन्दोलनबाट आफू अलग हुन्छु कि भन्ने अनुभूति गर्नुभयो,’ उनले भन, ‘अर्को कांग्रेससँगको गठबन्धन सुशासनका पक्षमा भएन भन्ने उहाँले अनुभूति गर्नुभयो, प्रचण्डका यी अनुभूतिलाई सकारात्मक ठानेर एमालेले यो समय गठबन्धन भत्काउन उपयुक्त ठान्यो र नयाँ समीकरणका लागि भूमिका खेल्यो।’

महासचिव पोखरेलले नेपालको राजनीतिमा स्वार्थ आधारित मोर्चाबन्दीका कारण जनताको स्पष्ट अभिमत प्रकट हुन नपाएको औंल्याए । अब नेपालका राजनीतिलाई गठबन्धनको माध्यमबाट नभएर नीतिको ध्रुवीकरण वा समान विचार बोक्ने दलबीचको सहकार्यका माध्यमबाट अगाडि बढाउनु जरुरी रहेको उनले बताए ।

‘राजनीतिको लक्ष्य भनेको समाज परिवर्तनको विषय हो, हामीले भने राजनीतिक परिवर्तन भए सबै परिवर्तन हुन्छ भन्ने मानसिकता बोक्यौं,’ उनले भने, ‘हामीले विगतका त्याग र बलिदानको योग्दान खोजेर जनतातर्फ फर्किनु गलत छ ।’ उनले कांग्रेस विचारका आधारमा नभएर स्वार्थका आधारमा राजनीतिलाई डो¥याउने पैरवी गर्ने दलका रुपमा स्थापित भएको आरोप समेत लगाए ।

तपाईको प्रतिक्रिया