आउदो शुक्रबार देखि कर्णालीका लागी पाठ्यपुस्तक वितरण हुने

सुर्खेत। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ का लागि छापेको १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको छ । लिमिटेडको नेपालगन्जस्थित गोदामबाट लुम्बिनी र कर्णालीका जिल्लाहरूमा उक्त पाठ्यपुस्तकहरू शुक्रबारदेखि वितरण सुरु हुनेछ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलका अनुसार लुम्बिनी र कर्णालीका जिल्लाहरूका लागि वितरण गर्न केन्द्रबाट करिब १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको बताएका छन् । केन्द्रबाट प्राप्त भएका १८ लाख थान पुस्तकमध्ये पहिलो चरणमा कर्णालीका जिल्ला हुम्ला र डोल्पामा शुक्रबारदेखि वितरण सुरु गर्ने जनाइएको छ ।

“लुम्बिनी र कर्णालीका केही जिल्लाका लागि आवश्यक १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरूमा क्रमशः पुस्तक वितरण गर्दैछौं ।” प्रमुख ढुङ्गेलले भने, “शुक्रबारदेखि कर्णालीका हुम्ला र डोल्पाका लागि पुस्तक वितरण कार्य सुरु गर्दैछौं, त्यहाँका व्यापारीहरू यहाँ आएर प्याकिङको काम गर्दै हुनुहुन्छ, अबको हप्ता दिनभित्र ती जिल्लामा पुस्तक पुगिसक्छ ।”

सबै पाठ्यपुस्तक सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना मुताबिक प्रादेशिक प्रेस कार्यालय नेपालगन्जले बनाएको र सोही अनुसार गरिने उनले बताए । नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम्, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने ढुङ्गेलले जनाए ।

पहिले हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरणको कार्ययोजना बनाएको र क्रमशः सोही अनुसार पहाडी तथा तराईका जिल्लामा वितरण गरिने प्रमुख ढुङ्गेलले बताए । उनका अनुसार कर्णालीको हुम्लाका लागि चैत ९ गते शुक्रबारदेखि १३ गतेसम्म र डोल्पाका लागि चैत १३ र १४ गते पुस्तक वितरण गरिनेछ ।

उनका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले वितरण गर्ने कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तकमध्ये सबैभन्दा बढी करिब दुई लाख ८८ हजार थान पुस्तक दाङ पठाइनेछ । त्यसैगरी बर्दियामा दुई लाख ५२ हजार थान, बाँकेमा दुई लाख ५२ हजार थान, सल्यानमा दुई लाख १६ हजार थान, रोल्पामा एक लाख ६२ हजार थान, जाजरकोटमा एक लाख ८ हजार थान, रुकुमपश्चिममा एक लाख ८० हजार थान, रुकुमपूर्वमा एक लाख ४४ हजार थान, डोल्पामा एक लाख ८ हजार थान र सबैभन्दा कम हुम्लामा ७२ हजार थान पुस्तक गरी करिब १८ लाख थान पुस्तक वितरण गरिने ढुङ्गेलले जानकारी दिए ।

गत वर्ष नेपालगन्ज कार्यालयबाट जाजरकोट बाहेकका ९ जिल्लामा १६ लाख ४४ हजार ८५१ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष जाजरकोटसहितका १० जिल्लामा करिब १८ लाख थान पुस्तक वितरण गरिने उनले बताए।

तपाईको प्रतिक्रिया