एमाले सुर्खेतमा सहमति हुन सकेन, अध्यक्षका लागि विसी र देवकोटा भिड्दै

सुर्खेत । नेकपा एमाले सुर्खेतमा सहमति हुन नसकेपछी नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि शुरु गरिएको हो । तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो ।

अधिवेशनको उद्घाटन गर्न आएका महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएर फर्किएका थिए । प्रदेश राजधानीको जिल्ला सुर्खेत भएकाले नेताहरुले प्रतिष्ठाको विषय बनाएर अन्तत चुनावी मैदानमा होमिएका छन् ।

स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल र गोरख बोगटीले नयाँ नेतृत्व छान्न सहमति गर्न नसक्दा दुवै नेताको नाममा प्यानल खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । वोगटी सुर्खेत जिल्ला ईन्चार्जसमेत छन् । सहमतिबाट नेतृत्व छनोटका लागि वोगटी टिमले सचिवसहित ४० प्रतिशत सदस्य मागेपछि सहमति हुन नसकेको एक एमाले नेताले जानकार िदिए ।

‘उनीहरूको टिमभन्दा बढी नेताहरू यतै भएकाले व्यवस्थापन गर्न समस्या भएपछि सहमतिमा खास कुरा मिल्न सकेन तर उप(सचिवसहित २० प्रतिशत सदस्य लिनुहोसभन्दा नमानेपछि अहिले मनोनयन दर्ता गरिएको छ,’ ति नेताले भने, ‘उनीहरूले खोजे जसरी दिन सकिने अवस्था भएन अब निर्वाचनबाटै नेतृत्व छनोट हुन्छ ।’

तर वोगटी टिमका नेताहरूले भने अमृत विसीसहितको टिमलाइ सम्मानजनक रूपमा व्यवस्थापन नगरिदिँदा चुनावमा होमिन परेको बताउँछन् । ‘स्वभावै उनीहरूको दवदवा छ तर हामी नेता कार्यकर्ताहरूको पनि उचिन सम्मान हुनु पर्यो भनेर सचिवसहित केही सदस्य मागेका थियौं तर त्यो नभएपछि अन्तत चुनावै होमियौं अव चुनावको परिमाण स्वीकार्छौं,’ उनले भने ।

कँडेलको पक्षबाट अध्यक्षका लागि हाल उपाध्यक्ष रहेका कुलमणि देवकोटा र वोगटी टिमबाट वर्तमान अध्यक्ष अमृत बीसी छन् । यस्तै, उपाध्यक्षमा देवकोटा टिममा समाजवादी छोडर भर्खरै आएका मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशीला विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन् ।

यता निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निणर्य दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ । यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया