काठमाडौं । होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताए । “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उनले भने, “यो पर्व मन नपराउने कमै छन् ।”
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ”, उनले भने, “काठमाडौंमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।”
हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
नेपालीरैबार । २०८० चैत्र ११, आईतवार