कर्णालीमा एसईई परीक्षाको तयारी पुरा, ३५ हजार ८०८ परीक्षार्थी, १८६ परीक्षा केन्द्र

घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर

सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुने छ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरु एसईईमा सहभागी हुँदैछन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ ।

जिल्लागत विवरण हेर्दा रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्रहरु रहेका छन् भने ३ हजार ५९३ जना परीक्षार्थीहरु रहेका छन् । २५ वटा परीक्षा केन्द्र रहेको सल्यानमा ४ हजार ५८२ परीक्षार्थी रहेका छन् । विशेषगरी हिमाली जिल्लाहरुमा विद्यार्थीहरुको संख्या निकै न्यून देखिन्छ । सबैभन्दा कम डोल्पामा जम्मा ७३३ जना विद्यार्थीहरुले एसईई दिँदैछन् । यहाँ चारवटा मात्रै परीक्षा केन्द्रहरु तोकिएको छ ।

हुम्लामा ६ वटा मात्र परीक्षा केन्द्रहरु रहेका छन् भने विद्यार्थी एक हजार १९५ परीक्षार्थीहरु रहेका छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थीहरु रहेका छन् । जुम्लामा १६ परीक्षा केन्द्र २ हजार ५५७ परीक्षार्थी, जाजरकोटमा २२ परीक्षा केन्द्र ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्र ५ हजार २५७ परीक्षार्थी र सुर्खेतमा सबैभन्दा बढी ३३ वटा परीक्षा केन्द्रहरु र ८ हजार ३४८ परीक्षार्थीहरु रहेका छन् । निर्देशनालयका सुचना अधिकारी लोकप्रसाद पौड्यालले परीक्षामा सहभागी हुने परीक्षार्थीमा ८२६ जना ग्रेड वृद्धितर्फ रहेका छन् भने बाँकी नियमिततर्फ रहेको बताए । उनका अनुसार कर्णालीमा एसईई परीक्षाको सम्पुर्ण तयारीहरु पुरा भइसकेको छ । प्रश्नपत्रदेखि उत्तर पुस्तिकाहरु पनि परीक्षा केन्द्रहरुमा पुगिसकेको छ ।

परीक्षार्थीको संख्या घट्दै

कर्णालीमा हरेक बर्ष एसईई दिने परीक्षार्थीहरुको संख्या वृद्धि हुनाको साटो घट्दै गइरहेको छ । गत बर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थीहरू एसईईमा सहभागी बनेका थिए । यो बर्ष ३ हजार १६२ जना विद्यार्थीहरु घटेको देखिन्छ । राजधानी समेत रहेको सुर्खेतमा पनि विद्यार्थीको संख्या घटेको देखिन्छ । गतबर्षभन्दा एक हजार बढी विद्यार्थीहरु घटेको देखिन्छ । गत बर्ष सुर्खेतबाट ९ हजार १३९ विद्यार्थीले एसईई दिएका थिए । प्रायः सबैजसो जिल्लाहरुमा विद्यार्थी संख्या घटेको देखिन्छ ।

हिमाली जिल्लाहरुमा पनि विद्यार्थीको संख्या घटिरेहको छ । गत बर्ष हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६६६ र डोल्पाका ६९८ जना परीक्षार्थी रहेका थिए । कालिकोटमा ३ हजार ७६६, जुम्लाका २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् । विद्यार्थीको संख्या घट्नुको पछाडि गरिबी जोडिन्छ ।

आर्थिक अभावका कारण कतिपय विद्यार्थीहरु ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । तर सम्पन्न तथा जागिरे आमाबुबाहरु सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको सरोकारवालाहरु बताउँछन् । उसै पनि कर्णालीमा १ कक्षामा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा विद्यार्थीहरु निकै न्यून हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउँदै आएको छ । नेपाल राष्ट्र बैंकले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक बर्ष वर्ष २०७९/८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४.०१ प्रतिशतले विद्यार्थी संख्या घटेको छ । तर, निजी विद्यालयमा भने २२.२३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

खस्कँदै गुणस्तर

बेलैमा पुस्तक नपाउँने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर बर्षेनि खस्कँदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रुपमा सार्वजनिक गरेको एसइई नतिजा अनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जिपिए अंक ल्याएका छन्, जुन निकै कमजोर हो । एसइईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । गत बर्ष झन नतिजा कमजारे आयो । गत बर्ष जम्मा २४० विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याए । त्यस्तै १ हजार ३३२ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ३ हजार ६८८ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ८ हजार ११२ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार २३९ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याए । अन्य प्रदेशको तुलनामा भौगोलिकरूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नगरिदिनु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद्हरु बताउँछन् ।

– सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया