जुम्लामा क्षयरोगका बिरामी घट्दै

सुर्खेत । जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा छन् । पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्ने गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको थियो ।

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारणले मृत्यु भएको छ। कार्यालयको तथ्यांकअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जनाए ।

आर्थिक वर्ष २०७९-८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन्।

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०-८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन्।

नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ। आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया