सुन तस्करीको आरोपमा दुई जना पक्राउ

काठमाडौं। सुन तस्करीको आरोपमा दुई जना पक्राउ परेका छन् । रसुवाको केरुङ नाका हुँदै ल्याएको सुन सहित दुई जना युवालाई प्रहरीले काठमाडौंबाट प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

तपाईको प्रतिक्रिया