खराब मौसमका कारण दुई घण्टा आकाशमै घुम्यो श्रीएयरको जहाज

काठमाडौं। धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएयरको फ्लाइट नम्बर २२८ खराब मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो ।

श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुर्‍याइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।

उनले भने, ‘धगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाउँदा पनि जहाज अवतरण हुन सक्ने गरेर मौसम सुधार नभएपछि भैरहवा अवतरण गरिएको हो ।’

जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो ।

श्रीएयरकै रनसिंह ठकुल्लाका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने इन्धन थियो, त्यसैले यात्रु आत्तिन जरुरी थिएन । उनले सो जहाज ११ः५५ बजे भैरहवाबाट उडेर १२ः४६ मा काठमाडौंमा अवतरण भइसकेको बताए

तपाईको प्रतिक्रिया